काठमाण्डौ । अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर सुधार भइरहेको देखिएको छ ।
नेपाल राष्ट्रबैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक आर्थिक तथा वित्तीय अवस्थामा यस्तो देखिएको हो ।
कुनै बेला बाह्य क्षेत्र डामाडोल भई श्रीलङ्काको बाटोमा देशको अर्थतन्त्र अगाडि बढेको थियो । तर, राष्टबैंकले समयमै धेरै कुरामा सुधार गरेका कारण अहिले बाह्य अवस्था निकै सुविधाजनक अवस्थामा रहेको छ ।
चालु आर्थिक वर्षको ६ महिनासम्ममा बाह्य क्षेत्रको अवस्था कस्तो छ त ? हेरौं बुँदागत रुपमा:
वैदेशिक व्यापार
आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा कुल वस्तु निर्यात ७.२ प्रतिशतले कमी आई रु.७४ अर्ब ९७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३२ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १२.८ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३७०.९ प्रतिशत र १.३ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा कुल वस्तु आयात ३.१ प्रतिशतले कमी आई रु.७६८ अर्ब १७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.४ प्रतिशत र २५.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, विद्युत्तीय उपकरण, एम.एस. तार, छड, बार तथा क्वाइल, लत्ताकपडा, सवारी साधान तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, धान तथा चामल, पेट्रोलियम पदार्थ लगायतका वस्तुको आयात घटेको छ ।
विप्रेषण आप्रवाह
समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई रु.७३३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २०७,९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १३५,४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २७५,६४३ र १४२,५४८ रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २४ प्रतिशतले वृद्धि भई रु.७९९ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.७ प्रतिशतले बढेको थियो ।
चालु खाता एवम् शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता रु.१६१ अर्ब ६२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३५ अर्ब ५७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २१ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३० प्रतिशतले कमी आई रु.३ अर्ब ११ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४ अर्ब ५३ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ४३ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ७४ करोड ९४ लाखले धनात्मक रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२७३ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.९२ अर्ब १५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति
२०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भई २०८० पुस मसान्तमा रु.१८१६ अर्ब ५७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० पुस मसान्तमा १६.९ प्रतिशतले वृद्धि भई १३ अर्ब ६९ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८० पुस मसान्तमा १८.९ प्रतिशतले वृद्धि भई रु.१६०० अर्ब २३ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८० पुस मसान्तमा ११.८ प्रतिशतले वृद्घि भई रु.२१६ अर्ब ३५ करोड कायम भएको छ । २०८० पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।
सञ्चिति पर्याप्तता सूचक
आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.८ प्रतिशत, १००.९ प्रतिशत र २७.७ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।