काठमाण्डौ। रुसी अदालतले कसेनिआ करेलिना नामकी एक महिलालाई युक्रेनलाई साथ दिइरहेको र परोपकारी संस्थालाई ५१ अमेरिकी डलर चन्दा दिएपछि देशद्रोहको अभियोगमा १२ वर्षको जेल सजाय सुनाएको छ। अमेरिका र रुसको दोहोरो नागरिकता भएकी करेलिनाले गत साता बन्द कोठाभित्र भएको एक सुनुवाइका क्रममा आफ्नो दोष स्वीकार गरेकी बताइएको छ।
लस एन्जलसमा बसिराखेकी उनी सन् २०२१ मा अमेरिकी नागरिक बनेकी थिइन्। गत ज्यानुअरीमा एक पारिवारिक भ्रमणका क्रममा रहेका बेला उनी मस्कोभन्दा झन्डै १,६०० किलोमिटर पर रहेको यकाटरिन्बर्गबाट पक्राउ परेकी थिइन्।
अभियोजनकर्ताहरूले उनका लागि १५ वर्षको जेल सजाय माग गरेका थिए। यकाटरिन्बर्गको उक्त अदालतले ठूलो देशद्रोहका लागि दोषी करार गर्दै उनलाई कारावासको सजाय सुनाएको हो।
रुसको एफएसबी सुरक्षा सेवाले करेलिनालाई युक्रेनी सेनालाई हतियार उपलब्ध गराउने एक युक्रेनी संस्थाका लागि पैसा उठाएको आरोप लगाएको छ।रुसका मानवअधिकारवादीहरूले करेलिना अमेरिकामा रहँदा एक पटक मात्र ५१.८० अमेरिकी डलर पठाएको जनाएका छन्।
उक्त चन्दा उनले रुसले युक्रेनमा पूर्ण आकारको अतिक्रमण गरेको पहिलो दिन अर्थात् सन् २०२२ को २२ फेब्रुअरीमा पठाएकी थिइन्। एफएसबीले उनको मोबाइलमा उक्त कारोबारको विवरण भेटेको ठानिएको छ। उनका वकिलले करेलिनाले उक्त पैसा पठाएको र त्यो दुवै पक्षका पीडितको सहायतामा प्रयोग हुने ठानेको मात्र स्वीकार गरेको बताएका छन्। -एजेन्सी


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।