काठमाण्डौ । नेपाली हिन्दूहरूको महान् पर्व बडादशैं आजबाट शुरू भएको छ। आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेसँगै यसपालिको दशैं सुरु भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान ९ बजेर १६ मिनेटको शुभसाइत तोकेको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो पर्व दशैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । घटस्थापनाको दिन पूजाकोठा, दशैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतैकतै भने ब्रम्हाको पनि स्थापना गरिन्छ । घटस्थापनाका दिन पूजाकोठामा घैटौ अथवा घडामा जलभरि आँप, चाँप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडावरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ ।
कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ । बिहानै उठेर नुहाइधुवाइ गरी चोखो भएर पूजाकोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ उमार्ने गरिन्छ । त्यहीनजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ । कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ ।
आज घटस्थापनाको दिन सरकारले सार्वजनिक बिदा दिएको छ । त्यसैले आज सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् ।
आज नेपाल स्कट एक्सचेञ्ज(नेप्से) पनि आज बन्द रहनेछ । आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन । यो महिना अब ६ दिन मात्रै सेयर कारोबार हुने भएको छ । असोज २४ गतेदेखि २८ गतेसम्म सेयर कारोबार हुने छैन । यो महिना असोज २०,२१,२२,२३,२९ र ३० गते सेयर कारोबार हुनेछ ।