काठमाण्डौ । थोरै–थोरै रकम बचत गर्न वा लगानीलाई प्रोत्साहन गर्नका लागि नेपालमा सञ्चालित केही मर्चेण्ट बैंकहरुले सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान(एसआईपी) योजना सञ्चालन गर्दै आइरहेका छन् ।
‘एसआईपी’ सिस्टमेटिक इन्भेष्टमेन्ट प्लानको सर्टफर्म हो । यो एक व्यवस्थित लगानी योजना हो । एसआईपी प्लान खुलामुखी म्युचुअल फण्ड संचालन गरेका मर्चेण्ट बैंकहरुले संचालन गर्ने एक योजना हो । सुन्दा नयाँ लागे पनि एसआइपी भनेको खुलामुखी म्युचुअल फण्डभित्रकै एउटा स्किम वा फिचर्स हो ।
विशेष गरी साना लगानीकर्तालाई मध्यनजर गर्दै मर्चेन्ट बैंकहरुले बजारमा एसआइपी योजना ल्याएका छन् । लामो समयको लागि लगानी गर्न चाहानेहरुका लागि एसआइपी योजना लाभदायी हुनसक्छ ।
आफ्नो लगानी स्थिर राख्न र निरन्तर प्रतिफल प्राप्त गर्न एसआइपीमा लगानी गर्दा उचित हुने मर्चेन्ट बैंकरहरु दाबी गर्छन् । एसआइपीअन्तर्गत मर्चेन्ट बैंकहरुले लगानीकर्तासमक्ष १ हजार रुपैयाँसमेत बचत तथा लगानी गर्नसक्ने स्किम ल्याएका छन् । सबैको आम्दानी एकैप्रकारको नहुने भएकाले आम्दानीअनुसारको रकम बचत तथा लगानी गर्न मर्चेन्ट बैंकहरुले एसआइपी सञ्चालनमा ल्याएका हुन् ।
मर्चेन्ट बैंकहरुले एसआइपीबापत उठेको रकम आफूले सञ्चालन गरेको खुलामुखी सामूहिक लगानी कोषमा लगानी गर्छन् । बजारमा म्युचुअल फण्डहरु खरिद गर्दा ठूलो रकम चाहिन सक्छ । तर एसआइपीले सानो रकमलाई जम्मा गरी त्यस रकम बराबरको सामूहिक लगानी योजना खरिद गर्ने गर्छ । यसर्थ एसआइपी छुट्टै योजना भने होइन, यो म्युचुअल फण्डमै लगानी गर्ने एक माध्यम हो ।
हाल ६ वटा मर्चेन्ट बैंकले खुलामुखी सामूहिक लगानी योजना सञ्चालन गरेपनि ४ वटा मर्चेन्ट बैंकले मात्रै एसआइपी ल्याएका छन् । जसमा एनआइसी एशिया क्यापिटल, एनआइएमबी एस क्यापिटल, सिद्धार्थ क्यापिटल र एनएमबि क्यापिटल छन् ।
एसआइपीले लगानीकर्तालाई थोरै लगानीबाट नियमित रुपमा बचत गर्न सिकाउने र दीर्घकालिन रुपमा लगानी गर्दा उच्च प्रतिफल पाइने मर्चेन्ट बैंकरहरु बताउँछन् । तर पछिल्लो समय एसआइपीप्रति लगानीकर्ताको आकर्षण त्यति देखिएको छैन ।
छिमेकी मुलुक भारतमा जुन किसिमले एसआइपीमा लगानीकर्ताको क्रेज छ त्यसरी नेपालका लगानीकर्ताको आकर्षण त्यति देखिदैंन । भारत लगायत अन्य देशमा जस्तो नेपालमा भने एसआइपीप्रति लगानीकर्ताको त्यति मोह बढ्न सकेको छैन । मर्चेन्ट बैंकहरुले एसआइपी सञ्चालनमा ल्याएको यतिको समय भइसक्दा पनि लगानीकर्ताहरु त्यसप्रति आकर्षित हुन सकिरहेका छैनन् ।
नेपालमा बचतसँगै लगानी गर्ने वातावरण नहुनु र एसआइपीको विषयमा जानकारी नहुँदा आकर्षण घट्दै गएको सिद्धार्थ क्यापिटलका सीइओ सन्दिप कार्की बताउँछन् । ‘पछिल्लो समयमा लगानीको वातावरण राम्रो हुन सकेको छैन, त्यसमाथि एसआइपीको बारेमा बुझाईको कमी छ’ उनले भने, ‘तर जसले एसआइपीको बारेमा राम्रो बुझेको छ, उसले अवश्य पनि लगानी गरेको हुन्छ ।’
एसआइपीमा आकर्षण बढाउन मर्चेन्ट बैंकहरुले विभिन्न स्किम वा योजनाहरु ल्याएको कार्कीले बताए । ‘हामी फण्ड म्यानेजरहरु लगानीको वातावरण बनाउन नियमित प्रयासरत छौं । एसपीआई लगायत अन्य लगानीका विषयमा बुझाइरहेका छौं’ उलने भने, ‘ढिलाचाँडोको कुरा हो एसआइपीले विस्तारै पपुलारिटी बढाउँदै लैजानेछ र लगानीकर्ताको यसप्रति आकर्षण पनि बढ्दै जानेछ ।’
एसआइपीमा लगानी गर्दा दीर्घकालिन रुपमा प्रतिफल प्राप्त हुने र २५–३० वर्षसम्म लगानी गर्नेहरुका लागि एसआइपीले उत्कृष्ट रिटर्न दिने कार्कीले बताए । ‘एसआइपी लङ टर्म इन्भेष्टमेन्टका लागि बनाइएको योजना हो, जसले थोरै–थोरै रकम भए पनि एसआइपीमा लामो समयसम्म लगानी गर्नुहुन्छ, उहाँहरुले पछि उत्कृष्ट रिटर्न पाउनुहुनेछ’ उनले भने, ‘हामीसँग लगानी गर्ने बानीको विकास भएको छैन, तर अब विस्तारै लगानीको बानी बसाल्नुपर्छ र सर्टेन टाइममा ठूलो रिर्टन गेन गर्ने माध्यम भनेकै एसआइपी हो । यसकारण एसआइपीमा लगानी गर्ने वातावरण विस्तारै बढ्दै जानेछ ।’
एनआइसी एशिया क्यापिटलका सीओओ प्रज्ञरत्न शाक्य पनि अवेयरनेसको कमीले एसआइपीप्रति आकर्षण बढ्न नसकेको बताउँछन् । ‘लगानीकर्ताहरुबीच म्युचुअल फण्डलाई हेर्ने नजरिया नै फरक छ । लगानीकर्ताहरुले सर्टटर्ममै रिटर्न खोज्छन् तर एसआइपी लङ टर्म इन्भेष्टमेन्ट गर्नेका लागि मात्रै लाभदायी छ’ उनले भने, ‘एसआइपीमार्फत खुलामुखी योजनामा लगानी हुने भएकाले दीर्घकालिन लगानीका लागि यो माध्यम उचित छ । जसमा लगानीकर्ताहरुले वर्षेनी १४–१५ प्रतिशतसम्म रिटर्न पाएका छन् र पाउने पनि छन् ।’
दोस्रो बजारमा अधिकांश बन्दमुखी योजनाहरु सूचीकृत छन् । बजारमा यस्ता फण्डहरुको न्याभ एउटा हुने र ट्रेड अर्कै रुपमा हुने भएकाले एसआइपीप्रति नै हेर्ने नजरिया राम्रो नभएको उनको भनाई छ ।
‘सामान्यतया एसआइपीमा लगानी गर्दा लगानीकर्ताले वर्षेनी १०–१२ प्रतिशतसम्म रिटर्न पाउने पक्का हुन्छ । एसआइपीलाई हामी ‘चाइनिज बेम्बो’ को रुपमा ब्याख्या गर्न सक्छौं । जस्तै यो बिरुवा ३–४ वर्षसम्म ग्रोथ भएको देखिँदैन, तर त्यसपछि उक्त बिरुवाले ग्रोथमा नयाँ रुप लिन्छ, त्यसरी नै एसआइपीले पनि लामो समयका लागि उत्कृष्ट रिटर्न दिलाउनेछ’ उनले भने, ‘एसआइपीबाट संकलित रकम फण्ड म्यानेजरले निरन्तर रुपमा लगानी गरेको हुन्छ । दोस्रो बजार घटे पनि एसआइपीमा लगानी गरेपछि लगानीकर्ताको फण्डको इकाई संख्या थपिँदै जानेछ, यस हिसाबले फाईदा छ ।’
के छ लगानीकर्ताको धारणा ?
नेपालमा एसआइपी सञ्चालनमा आएको ५ वर्ष बढी भइसकेको छ । तर लगानीकर्ताहरुको एसआइपीप्रति उति आकर्षण देखिएको छैन । एसआइपीमार्फत लगानीकर्ताले पाउने एभरेज रिटर्न उत्कृष्ट हुन नसक्दा यसप्रति त्यति आकर्षण बढ्न नसकेको बजार जानकार तथा लगानीकर्ता अयजसिं थापा (जय शम्भू) बताउँछन् । ‘एसआइपी आएको सुरु सुरुमा फण्डहरुबाट पाइने एभरेज रिटर्न १०–१२ प्रतिशत थियो, तर पछिल्लो समय लगानीकर्ताले एसआइपीमार्फत त्यति रिटर्न पाएका छैनन्’ उनले भने, ‘अहिले मुद्दती निक्षेपको ब्याजदर केही घटेको छ, नत्र एसआइपीमा लगानी गर्नुभन्दा मुद्दती निक्षेपमै रकम राख्दा बढी प्रतिफल पाइने देखिन्छ । यसकारण पनि आकर्षण बढ्न नसकेको हो ।’
साथै अहिले बजारमा सर्टटर्ममै धेरै रिटर्न खोज्ने अल्पकालिन लगानीकर्ता हाबी भएकाले एसआइपी तथा म्युचुअल फण्डहरुमा आकर्षण नदेखिएको थापा बताउँछन् । ‘बजारमा अहिले छोटो समयमै धेरै रिटर्न खोज्ने लगानीकर्ता बढी छन्, यसकारण एसआइपीमा लगानीकर्ताको त्यति मन नगएको हुनसक्छ’ उनले भने, ‘कम्पनीहरुले दिएको बोनसप्रति आकर्षण घट्दै गएको समयमा एसआइपीबाट एभरेजमा पाइने ७–८ प्रतिशत रिटर्नमा लगानीकर्ता सन्तुष्ट हुन सक्दैनन् ।’
अर्थतन्त्रमा सुधारसँगै बजार चलायमान भएपछि म्युचुअल फण्डहरुले दिने रिटर्नदर बढेमा भविष्यमा नेपालमा पनि एसआइपीको राम्रो स्कोप हुनसक्ने थापाको आँकलन छ । ‘अहिले फण्डहरुले बाँड्ने प्रतिफल त्यति चित्तबुझ्दो छैन । लगानीकर्ताले आफ्नो लगानीबाट उत्कृष्ट रिटर्न पाउन खोज्छन् जुन एसआइपीबाट आउने जस्तो देखिन्न।’ उनले भने, ‘यदि फण्डहरुले फिक्स्ड डिपोजिटबाट पाइने प्रतिफलभन्दा केही प्रतिशत बढाउने हो भने एसआइपी दीर्घकालीन लगानीका लागि साच्चिकै उपयुक्त विकल्प हुने थियो ।’
अर्का लगानीकर्ता तथा विश्लेषक केशव कोइराला (काका) भने एसआइपी सञ्चालन गरेका फण्ड म्यानेजर तथा क्यापिटलहरु बेइमान हुँदा यसप्रति लगानीकर्ता आकर्षित हुन नसकेका दाबी गर्छन् ।
‘नेपालमा एसआइपी सञ्चालन गरेका वा म्युचुअल फण्डहरु ल्याएका क्यापिटलहरु भारतको जस्तो इमानदार छैनन् । आफूले उठाएको सेयर अरुलाई बोकाइदिने खालका बेइमानको हालीमुहाली छ’ उनले भने, ‘नेपालका म्युचुअल फण्डहरु न त आफूले उत्कृष्ट नाफा कमाउन सक्छन् न त इकाईधनी वा एसआइपीमा लगानी गरेका लगानीकर्तालाई नै भनेजस्तो रिटर्न दिन सक्छन् । यस्तै कारणले गर्दा लगानीकर्ता निरुत्साहित बनेका हुन् ।’
साथै एसआइपीबाट पाउने रिटर्न भनेजस्तो नहुनु र थोरै रिटर्नमा लगानीकर्ताको आकर्षण नदेखिनुले एसआइपीप्रति लगानीकर्ताको चार्म नदेखिएको कोइराला बताउँछन् ।
‘एसआइपीबाट पाउने रिटर्न ‘नोमिनल गेन’ जति पनि भएन । जसरी भारतमा यस्तो लगानीबाट लगानीकर्ताले वर्षेनी १२ देखि १८ प्रतिशतसम्म रिटर्न पाउँछन्, तर नेपालमा त्यति पाउने सम्भावना नरहेकाले नै एसआइपीमा लगानी गर्न रुचाउँदैनन्’ उनले भने, ‘अर्काे कुरा सर्टटर्म इन्भेष्टरहरुले एसआइपी र म्युचुअल फण्डमा लगानी गर्न चाहदैनन् । दोस्रो बजारमा राम्रा कम्पनीको बोनसमा आकर्षित नहुने लगानीकर्ताले सेयर चलखेल गरेर छोटो समयमा नै धेरै फाइदा लिन खोज्ने प्रवृत्तिले लगानीको वातावरण नै बिग्रिएको छ ।’
एसआइपी सञ्चालन गरिरहेका क्यापिटलहरुले इकाईधनी वा लगानीकर्ताको हितलाई मध्यनजर गर्दै लगानीको दायरा बढाउने र प्रतिफल दर बढाउँदै लाने हो भने एसआइपीप्रति विस्तारै क्रेज बढ्दै जाने कोइरालाको सुझाव छ ।