काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांशको अजेण्डा पारितसहित साधारण सभा आह्वान गरेको छ । मंसिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिकाृ बैठकले १७ औं साधारण सभा आगामी पुस ६ गते आयोजना गर्ने निर्णय गरेको हो ।
सो सभा विराटनगरमा रहेको बिग होटलमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले गत आवका लागि प्रस्ताव गरेको हाल कायम चुक्तापूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँको २० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) पारित गरिनेछ ।
यस्तै, अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको गत असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा गत आवमा कम्पनीबाट भएका संस्थागत उत्तरदायित्व अन्तर्गतका खर्चहरु समेत अनुमोदन गरिनेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                