काठमाण्डौ । विद्युत् माग हुने अर्थात साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म पिक आवरमा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने जनाएको हो ।
४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको प्राधिकरणले जनाएको छ । यो आयोजनामा गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण क्षति पुगेको थियो। यद्यपी पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नु पर्ने अवस्था भनेको नरहेको जनाइएको छ ।
हिउँदयाम सुरुसँगै जलाशयको पानीको स्तर घट्दा जलविद्युत आयोजनाहरुको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने र पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नुपर्ने अवस्था आएको प्राधिकरणले जनाएको छ ।
भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई आगामी चैत २ गतेसम्म ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक रुपमा ६५४ मेगावाटसम्म विद्युत् आयात अनुमति दिएको छ ।
तर, पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत आयात गर्न नपाउने व्यवस्था छ । त्यसपछि ३ चैत २०८१– १६ असार २०८२ सम्म सोलार आवर अर्थात बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिइएको छ ।