काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले १० औं वार्षिक साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २९ गते सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभा काठमाण्डौको गौशालामा रहेको बद्रिनाथ होटलमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा पूँजीवृद्धि तथा हकप्रद सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, कम्पनीको सहायक कम्पनी सम्बन्धमा र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८१/८२ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।