काठमाण्डौ । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज ४० अर्ब रुपैयाँ प्रशोचनको गर्न लागेको हो ।
बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १२ दिनका लागि निक्षेप सङ्कलन गर्न लागेको हो ।
अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी पुस २१ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।
राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्ने गर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।