काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको वृद्धि आज पनि जारी रहेको छ । आज सुनको मूल्य प्रतिऔंस ०.६५ प्रतिशत अर्थात १७.१० डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ६३३.५५ डलरमा कारोबार भईरहेको छ । लगानीकर्तामा अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको कार्यकालमा अर्थतन्त्रको अवस्था र सन् २०२५ मा फेडरल रिजर्भको अपनाउने ब्याज नीतिको चर्चा भईरहेका बेला आज सुनको मूल्यमा वृद्धि आएको हो ।
युक्रेन र रुसबीच बढ्दो तनावका कारण पनि सुनको मूल्य उकालो लागिरहेको विज्ञहरुले बताएका छन् । रुसले पछिल्लो समय युक्रेनको विद्युतीय प्रणालीलाई निशाना बनाई आक्रमण गरिरहेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपतिले अमेरिकी रक्षा विभागलाई युक्रेनलाई हतियार आपूर्ति वृद्धि गर्न निर्देशन दिएका छन् ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ०.२६ डलरले बढेर प्रतिऔंस २९.८८ डलरमा कारोबार भईरहेको छ ।