काठमाण्डौ । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सार्वजनिक यातायातको भाडा ३.३० प्रतिशतसम्म बृद्धि गरेको हो ।
विभागका अनुसार यात्रुबाहक सवारीतर्फ ३.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीतर्फ ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीतर्फ ०.०५ प्रतिशत भाडा बृद्धि गरिएको हो ।
यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, संचालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायतका मुख्य सूचकहरुमा देखिएको मूल्य बृद्धिको आधारमा सार्वजनिक यातायातमा सवारीको भाडादर बृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
भाडा निर्धारणका विभिन्न १३ सूचकलाई आधार मानेर सरकारले इन्धनमा भएको घटबढलाई हेरेर सवारी भाडादर समायोजन गर्दै आएको छ । सरकारले अन्तिम पटक २०८० भदौ ३१ गते भाडादर समायोजन गरेको थियो ।