काठमाण्डौ । संखुवाखोला जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता(पीपीए)सम्पन्न भएको छ।
बुधबार नेपाल विद्युत प्राधिकरण र आयोजना प्रवर्द्धक गुराँस हाइड्रो प्रालिबीच ४१.०६ मेगावाटको संखुवाखोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर भएको हो। पीपीएमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रवर्द्धक कम्पनी (गुराँसहाइड्रो) का तर्फबाट अध्यक्ष शिवप्रसाद घिमिरेले हस्ताक्षर गरेका हुन्।
सुख्खायाम (मंसिर १६ देखि जेठ १५) सम्मका लागि ४ रुपैयाँ ८० पैसा र वर्षायाम (जेठ १६ देखि मंसिर १५) सम्मका लागि आठ रुपैयाँ ४० पैसा कायम रहने गरी पीपीए सम्पन्न भएको हो।
आयोजनाको कुल लागत ७ अर्ब ९७ करोड ५ लाख ८८ हजार ५ सय रुपैयाँ (भ्याटसहित) रहने आयोजनाका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए।
विद्युत विकास विभागले आयोजनाको अध्ययन गर्दा लागेको खर्च तिरेर गुराँस कम्पनीले प्रतिस्पर्धाबाट यो आयोजना प्राप्त गरेको हो।यस आयोजनाको बाँध संरचना संखुवासभाको सिलिचिङ गाउँपालिकमा रहेको छ भने विद्युतगृह भोजपुरको साल्पा चिलिचो गाउँपालिकामा छ।आयोजनाको विद्युत गृहमा करिब २१ मेगावाट क्षमताका २ वटा विद्युत उत्पादन युनिट र हने गरी डिजाइन गरिएको छ।
२०७७ सालमा विद्युतको ग्रिडकनेक्सन सम्बन्धि सम्झौता सम्पन्न भइसकेको यस आयोजनाको बिजुली संखुवासभाको शीतलपाटी सबस्टेशनसम्म २३२ केभी ४ किलोमिटर प्रसारण लाइन बनाएर जोडिनेछ।