काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म समृद्धि फाइनान्स कम्पनी लिमिटेड ६ करोड २८ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा १९४.३२ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनी २ करोड १३ लाख रुपैयाँ घाटामा थियो ।
समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी ८.१२ प्रतिशतले बढेर ३ करोड ८७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको पुस मसान्तसम्म ३ करोड ७४ लाख रुपैयाँले धनात्मक रहेको कम्पनीको खुद सञ्चालन आम्दानी ९९ लाख १८ हजार रुपैयाँले ऋणात्मक बनेको छ ।
कम्पनीको कर्मचारीका लागि ३ करोड २९ लाख र १ करोड ६३ लाख रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ । कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ६ करोड १२ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ६२ करोड ५३ लाख रुपैयाँ छुट्टाएको थियो ।
कम्पनीको रिटेन्ड अर्निङ ६८ करोड १ लाख रुपैयाँले ऋणात्मक छ भने रिजर्भको आकार २५ करोड २६ लाख रुपैयाँ रहेको छ ।
२ अर्ब ५८ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात ४.६८ प्रतिशतबाट बढेर १९.३४ प्रतिशत पुगेको छ ।
यस्तै कम्पनीको वितरणयोग्य मुनाफा ६८ करोड १ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३०.६९ रुपैयाँ ऋणात्मक रहेको छ ।