काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी २५ लाख ९८ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमासम्म कम्पनीले १२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी पनि १९ प्रतिशतले घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १८ करोड ३० लाख रुपैयाँ रहेको कम्पनीको खुद ब्याज आम्दानी १४ करोड ८२ लाख रुपैयाँमा सीमित बनेको छ ।
कम्पनीले ८ करोड ३० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । यो अवधिमा कम्पनीको खुद सञ्चालन आम्दानी ३२ करोड ९४ लाख रुपैयाँबाट घटेर १० करोड २० लाख रुपैयाँमा सीमित बनेको छ ।
यस्तै कम्पनीको रिटेन्ड अर्निङ ४७ करोड १५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको रिजर्भको आकार पनि घटेको छ । अघिल्लो आवमा ९७ करोड २१ लाख रुपैयाँ रहेको रिजर्भ घटेर ९४ करोड १७ करोडमा खुम्चिएको छ ।
कम्पनीको वितरणयोग्य मुनाफा ४७ करोड १५ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीले ९ अर्ब ८० करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ । साथै,यो अवधिसम्म कम्पनीले ६ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.६० रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १५६.०८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३१७.८३ रुपैयाँ र तरलता अनुपात ३४.२७ प्रतिशत कायम भएको छ ।