काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानीमा कमी आउदा बैंकको नाफा प्रभावित बनेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको नाफा ४७.०४ प्रतिशतले घटेको छ ।
अघिल्लो आवको दोस्रो त्रैमाससम्म ४ करोड ८८ लाख रुपैयाँ रहेको बैंकको खुद नाफा घटेर २ करोड ५८ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको खुद ब्याज आम्दानी ३५.५५ प्रतिशतले घट्दै ८ करोड ५८ लाख रुपैयाँमा खुम्चिएको छ ।
यस्तै बैंकको खुद सञ्चालन आम्दानी पनि १२ करोड ८२ लाख रुपैयाँबाट घटेर ९ करोड ९ लाख रुपैयाँमा सीमित बनेको छ ।
१ अर्ब २१ करोड रुपैयाँ चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ ५ करोड २४ लाख र रिजर्भको आकार ३४ करोड ४३ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकले खराब कर्जा अनुपात भने घटाएको छ । अघिल्लो आवमा २.७४ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर १.७४ प्रतिशतमा सीमित बनेको छ ।
बैंकको वितरणयोग्य मुनाफा ५ करोड २४ लाख रुपैयाँ र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ४.९६ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ४.२५ रुपैयाँ कायम भएको छ ।