काठमाण्डौ । नेपाल हाईड्रो डेभलोपर लिमिटेडको खुद नाफा ३१.०९ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले विद्युत बिक्री आम्दानी पनि ९.५५ प्रतिशतले बढाउदै ७ करोड १९ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको सोही अवधिसम्म यस्तो रकम ७ करोड १९ लाख रुपैयाँ थियो । कम्पनीको सञ्चालन मुनाफा ६ करोड २५ लाख र अन्य आम्दानी ११ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको वित्त खर्च भने घटेको छ । अघिल्लो आवमा ८६ लाख ३० हजार रुपैयाँ रहेको वित्त खर्च घटेर २९ लाख ३० हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रशासनिक,बिक्री तथा वितरण खर्च १४ लाख ८ हजारबाट बढेर १८ लाख १५ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै कम्पनीको रिजर्भको आकार ९०.१९ प्रतिशतले बढेर १० करोड ३३ लाख रुपैयाँ पुगेको छ । ३५ करोड ९४ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १० करोड ३८ लाख र कुल चालु दायित्व १ करोड ४९ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२४.१८ रुपैयाँ कायम भएके छ । अघिल्लो आवमा कम्पनीको ईपीएस १८.४५ रुपैयाँ थियो । साथै कम्पनीको प्रतिसेयर नेटवर्थ १२८.७४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३५.१९ गुणा र तरलता अनुपात १.७० प्रतिशत कायम भएको छ ।