काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमाशुल्क आर्जन बढेसँगै नाफामा सुधार आएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्ममा २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८६.७८ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १२ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २३.६९ प्रतिशतले बढेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब १८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ५७ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै, समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ९५ करोड ६ लाख रुपैयाँ,अन्य प्रत्यक्ष आम्दानीबाट ९० लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४ करोड ७२ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी भने ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै समीक्षा अवधिमा कम्पनीले ३ अर्ब २१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम २ अर्ब ६० करोड रुपैयाँ थियो।
कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ९५ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीको खर्च ३ अर्ब २३ करोड रुपैयाँ थियो। कम्पनीको महाविपत्ती कोषको आकार १९ करोड २८ लाख रुपैयाँबराबर रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ८३ करोड ८० लाख सञ्चित छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ११.७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८१.८२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६२४.६१ रुपैयाँ र पीई अनुपात ५९.२४ गुणा कायम भएको छ ।