काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६६ करोड ७१ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म पनि कम्पनीले ४१ करोड ८४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।
कम्पनीको बिक्री आम्दानी केही बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ७३ करोडबराबरको बिक्री गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १ अर्ब ७१ करोड रुपैयाँबराबरको बिक्री गरेको थियो । कम्पनीले यो अवधिसम्म ६ लाख ६९ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
त्यस्तै कम्पनीको प्रशासनिक,बिक्री तथा वितरण खर्च ११ करोड ९० लाख रुपैयाँ, ह्रासकट्टी खर्च ३३ करोड ५८ लाख र वित्त खर्च ४८ करोड ७ लाख रुपैयाँबराबर रहेको छ । सिमेन्ट उद्योगमा मागभन्दा बढी उत्पादन भएकाले प्रतिस्पर्धातक अवस्थामा बिक्रीमा अपेक्षाकृत वृद्धि नभएको, बिक्री दरमा यस त्रैमासको अन्त्यतिर केही वृद्धि भएको तर अपेक्षा अनुसार नबढेको र लागतमा भएको वृद्धिका कारण कम्पनीको आम्दानी घटेसँगै कम्पनी घाटामा गएको कम्पनीले जनाएको छ ।
यस्तै यस अवधिको युनिट १ को ब्याज खर्च सो युनिटले उत्पादन गरिसकेकाले आयकर ऐन बमोजिम ब्याज खर्चमा मात्र लेखांकन गरिएको साथै सो युनिटको ह्रास खर्चलाई नाफा÷नोक्सानमा लेख्नुपर्ने प्रावधान रहेकाले जम्मा आम्दानी घट्न गएको कम्पनीले जनाएको छ ।
कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङ २ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१४.६० रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ १८८.३३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५०८.३९ रुपैयाँ र तरलता अनुपात ०.७६ प्रतिशत कायम भएको छ ।