काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युतका तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा हिजो बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सम्पन्न भएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाण्डौमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको हो । पाइप फुटेपछि खानेपानी मन्त्रीको निर्देशन पश्चात् गए रातिदेखि मर्मतको सुरु गरिएको र करिब २० घण्टापछि मर्मत सकिएको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।
अहिले पानी परीक्षण गर्न थालिएकाले परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्ने निर्देशक पौडेलले बताए ।
बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको थियो भने विषेश अदालतसहित आसपासका सरकारी कार्यालयमा पानी पसेको थियो ।