काठमाण्डौ । वीरगञ्जमा मुख्य कार्यालय रहेको हिमालयन डिस्टिलरी नेप्सेमा सूचीकृत एकमात्रै मदिरा उत्पादक कम्पनी हो । यो कम्पनी नेप्सेमा उत्पादन तथा प्रशोधन समूहमा रहेको छ । सन् १९८५ को जुलाई २४ मा प्राइभेट कम्पनीका रुपमा स्थापित यो कम्पनी ११ मार्च २००० मा पब्लिक कम्पनीमा परिणत भएको थियो ।
कम्पनीमा संस्थापक समूहको ५८ प्रतिशत र सर्वसाधारण समूहको ४२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
आधारभूत पक्षः
यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषको आकार ५५ करोड ३३ लाख रुपैयाँ रहेको छ । साथै,कम्पनीको कुल पूँजी ३ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ४० करोड ४९ लाख रुपैयाँ रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा १४७ प्रतिशतले बढी हो । कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २६.३५ रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु ११८ रुपैयाँ र रिर्टन अन इक्विटी २२.३३ प्रतिशत रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा ११५ प्रतिशतले बढी हो ।
फियर एण्ड ग्रिड इन्डेक्स
फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी हाल ५० को तहमा न्यूट्रल सेन्टिमेन्टमा चलेको छ । यो भनेको कम्पनीको सेयरमा लगानीकर्ताहरुको आकर्षण सामान्य रहेको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य १६६० रुपैयाँ र न्यून मूल्य ११४२ रुपैयाँ रहेको छ ।

बोलिङ्गर ब्याण्ड म्याक्डी र आरएसआई
बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल लामो समयदेखि न्यून विन्दुमा चलेको र ब्याण्ड निकै खुम्चिएको अवस्थामा रहेको छ । यो भनेको कम्पनीको सेयरको मूल्यले कूनै पनि समयमा गति लिन सक्ने भन्ने हो । म्याक्डीले यस अघिनै बुलिस क्रसओभर बनाएको छ । हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएको देखिन्छ । आरएसआई ओभर सोल्ड जोन २७ को तहमा पुगेर हाल ५० को तहमा बुलिस डाइभर्जेन्स बनेको देखिन्छ । यदि कम्पनीको सेयर घट्दो क्रममा रहेको छ तर आरएसआई बढ्दो गतिमा रहेको छ भने त्यस्तो अवस्थामा बुलिस डाइभर्जेन्स बनेको मान्निछ । यसले पनि सम्भावित रुपमा कम्पनीको सेयरले अप टेन्ड लिन सक्ने बुझिन्छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – १३०७
प्रतिरोध २ – १२६९
प्रतिरोध १– १२१२
पिभट् प्वइन्टः ११७५
घटेमा सपोर्ट
सपोर्ट १– १११७
सपोर्ट २– ११८०
सपोर्ट ३ १०२२

निष्कर्षः आधारभूत रुपमा यो कम्पनीले पछिल्लो २ वटा त्रैमासिक प्रतिवेदनहरुमा सुधार गरेको देखिन्छ । कम्पनीको रिर्टन अन इक्विटी र प्रतिसेयर आम्दानीमा ११५ प्रतिशतको बढोत्तरी देखिन्छ । यद्यपी कम्पनीको पूँजीमा बढोत्तरी आउदा कम्पनीले अझै व्यापारमा सुधार गर्नुपर्ने देखिन्छ । बुक भ्यालुमा खासै सुधार देखिदैन । तर पनि कम्पनीको खुद मुनाफामा पछिल्लो त्रैमासमा १४७ प्रतिशतले बढोत्तरी आउनु सकरात्मक पक्ष नै देखिन्छ ।
प्राविधिक रुपमा कम्पनीको सेयरमा आरएसआईमा बुलिस डाइभर्जेन्स बनेको देखिन्छ । यो भनेको कम्पनीको सेयरमूल्य घट्दै जाँदा आरएसआई बढ्दै गएको भन्ने हो । यसले सम्भावित रुपमा कम्पनीको सेयरमा बढोत्तरी आउन सक्ने आँकलन गर्न सकिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।