काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बजारबाट ३० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । बजारमा अधिक तरलता देखिएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम खिच्न लागेको हो ।
बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २१ दिनका लागि निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी चैत ३ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।
राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्ने गर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।