काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अर्थात आजदेखि क्यानडा, मेक्सिको र चीनका उत्पादनमा कर लागु गरिने बताएका छन् ।
मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा अमेरिकामा २५ प्रतिशत भन्सार (आयात शुल्क) लाग्नेछ। यस्तै चीनमाथि थप १० प्रतिशत ट्यारिफ लगाइनेछ । ट्रम्पले यी देशहरूसँग सम्झौता गर्ने समय सकिएको कारण कर लगाइएको बताएका छन् ।
‘मेक्सिको वा क्यानडाका लागि कुनै ठाउँ बाँकी छैन,’ ट्रम्पले सोमबार ह्वाइट हाउसमा भने, ‘ट्यारिफको पूर्ण तयारी भइसकेको छ । जुन भोलिदेखि लागू हुनेछन् ।’
चीनको प्रतिक्रिया
रिपोर्टका अनुसार चीनले अमेरिकी कदमको विरोध गर्दै बढेको कर तत्काल फिर्ता लिन माग गरेको छ । चीनको वाणिज्य मन्त्रालयले मंगलबार अमेरिकाले घातक औषधि फेन्टानिलसँग सम्बन्धित आफ्नो घरेलु समस्यालाई शुल्क लगाउने बहानाको रूपमा प्रयोग गरिरहेको जनाएको छ ।
कर लगाउने खबर आएपछि अमेरिकी शेयर बजारमा भारी गिरावट आएको छ ।
क्यानडा, मेक्सिको र चीन अमेरिकाका तीन ठूला व्यापार साझेदार हुन् र मंगलबारदेखि उनीहरूका उत्पादनमा अमेरिकामा पहिलेभन्दा बढी आयात शुल्क लाग्ने भएको छ ।