काठमाण्डौ । बुटवलमा मुख्यालय रहेको ग्रामीण विकास लघुवित्तले सर्लाहीको मलंगवामा मुख्यालय रहेको समाज लघुवित्तलाई अक्वायर(प्राप्ति) गर्ने समाचार सार्वजनिक भएसँगै दोश्रो बजारमा लघुवित्त कम्पनीहरुको सेयरमूल्यमा नकारात्मक प्रभाव परिरहेको छ ।
दोश्रो बजार मूल्य प्रतिकित्ता ३५०० माथि पुर्याइएको समाज लघुवित्तलाई ९०० रुपैयाँ हाराहारी मात्र मूल्य रहेको ग्रामीण विकास लघुवित्तले १ः१ को सेयर स्वापमा अक्वायर गर्ने खबरलगत्तै समाजको मूल्यमा दैनिकजसो पहिरो गइरहेको छ ।
मर्जर सम्झौता भएको समाचारकै कारण समाज लघुवित्तको मूल्य घटेर प्रतिकित्ता २७०० हाराहारीमा आइसकेको छ । ग्रामीण विकास लघुवित्तको अन्तिम कारोबार मूल्य ९०० को हाराहारीमा छ ।
पछिल्लो केही महिनादेखि समाज लघुवित्तको सेयरमा पूँजीबजारमा संगठन बनाएर आन्दोलन गर्ने एउटा समूहले खेलिरहेको थियो । त्यो समूहको नाइकेको अगुवाईमा समाज लघुवित्तको सेयरमूल्य कर्नरिङ गर्दै थुपारेर ४१०० प्रतिकित्ता हाराहारी पुर्याइएको थियो । कुनै बेला प्रतिकित्ता ६४.८० रुपैयाँमा कारोबार भइरहेको यो कम्पनीको सेयरमूल्य बिनाकारण केही खेलाडीहरुले अकूमूलेट गर्दै आफूखुशीले मूल्य बढाएका थिए । केही महिनाको अन्तरालमै सेयरमूल्य ६४.८० रुपैयाँबाट बढाएर ४१०० सम्म पुर्याइएको थियो ।
यो कम्पनीको चुक्तापूँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ मात्र छ । यसमध्ये पनि पब्लिक सेयर ९८ हजार २५५ कित्ता मात्र छ । सप्लाई थोरै भएको फाइदा उठाउँदै एउटा समूहले यो कम्पनीको मूल्यलाई उचालेर निकै माथि पुर्याएको थियो ।
नेपालको सेयर बजारमा थोरै कित्ता भएका लो क्यापका कम्पनीहरुको मूल्य खेलाडीहरुले कसरी मिलेमतोमा टुप्पोमा पुर्याउँछन् भन्ने कुराको एउटा कुरुप उदाहरण समाज लघुवित्त पनि हो ।
यही लघुवित्तलाई ग्रामीण विकास लघुवित्तले लिने भएपछि यसको मूल्य निरन्तर घटिरहेको छ, जुन अस्वभाविक देखिदैन । यो कम्पनीको वित्तीय अवस्था रकेटको गतिमा मूल्य बढ्नुपर्ने खालको छैन, जसका कारण दोश्रो बजार मूल्य फुलाइएको कम्पनी कुनै पनि बेला घट्नसक्थ्यो, समाजको सन्दर्भमा त्यही भयो ।
तर, खेलाडीहरुका अनेक बाहाना भनेजस्तो समाजको उदाहरण दिएर पछिल्लो केही दिनदेखि बजारमा लघुवित्तको विषयमा नकारात्मक सेन्टिमेन्ट फैलाउने काम भइरहेको देखिएको छ । सामाजिक सञ्जालहरुमा समाज लघुवित्तको उदाहरण दिएर वित्तीय रुपमा राम्रा अन्य कम्पनीहरुको सेयरकित्ता खोस्ने खेल समेत सुरु भएको देखिन्छ ।
यो खेलमा केही ठूला खेलाडीहरुको सहभागिता देखिएको छ । उनीहरुले विभिन्न सामाजिक सञ्जालका फेक अकाउण्टहरु प्रयोग गरी तथा केहीलाई परिचालन गरेर समाजको उदाहरण पेश गर्दै लघुवित्तमा सुनियोजित ढंगले बिक्री दवाब बढाइरहेका छन् । किन यस्तो भइरहेको छ त ? एक अनुभवी लगानीकर्ताले नाम नखुलाइदिन आग्रह गर्दै भने-'यो सबै सोझालाई समाजको हाउगुजी देखाएर तर्साउने र राम्रा राम्रा कम्पनीको कित्ता समेत आफूले लुट्ने गेम प्लान मात्र हो ।'
खेलाडीहरुले समाजको उदाहरणसँगै अब सबै खालका लघुवित्तहरु ढिलोचाँडो मर्जरमा जाने हल्ला फैलाउने अभियान नै सुरु गरेका छन् । यो हल्लाले थोरै मूल्य भएको लघुवित्तको दोश्रो बजार मूल्यमा खासै असर परेको छैन भने धेरै मूल्य भएका कम्पनीहरुमा भने नकारात्मक प्रभाव पारेको छ ।
के खेलाडीहरुले भनेजस्तो सबै लघुवित्तहरु मर्जरमा जाँदैछन् त?
राष्ट्रबैंकको लघुवित्त संस्थाहरुको नियमन गर्ने विभागका एक अधिकारीकाअनुसार समाजको उदाहरण दिएर बाँकी लघुवित्त पनि मर्जरमा जाँदैछन् भनेर भाष्य निर्माण गर्नु नै गलत हो । 'समाज वा कुनै कम्पनी विशेषकै शैलीमा सबै लघुवित्त मर्जरमा जाँदैछन् भनेर गरिएको प्रचारबाजी आधारहीन छ ।' ती अधिकारीले भने -'कमजोर वित्तीय अवस्थाका कम्पनीहरुलाई पनि मर्जरमै जानुपर्छ भन्ने बाध्यता छैन । बोनस सेयर दिएर वा हकप्रद जारी गरेर(आफैं पूँजी थपेर) बलियो बन्ने विकल्पहरु पनि खुल्ला छन् । पूँजी थप्ने विकल्पमा नजानेहरुले मात्र ढिलोचाँडो मर्जरमा जानुपर्ने हुनसक्छ ।'
जानकारहरुले बजारमा फैलाइने आधारहीन हल्लाको पछाडि लागेर कुनै पनि कम्पनीको सेयर खरीदबिक्रीको निर्णय नलिन सर्वसाधारण लगानीकर्तालाई सचेत गराएका छन् । 'बजार बढ्दो क्रममा छ, यस्तो अवस्थामा राम्रो अवस्थाका कम्पनी तथा कतिपय लो क्यापकै कम्पनीको समेत कित्ता लुट्न सक्छन्, यसमा साधारण लगानीकर्ता सचेत हुनुपर्छ ।' बजार जानकार भन्छन् -'बजार अझै बढ्ने लयमा कुदिरहेको बेला कित्ता जोगाउन सके मात्र पूँजीबजारमा गरिएको लगानीले राम्रो रिटर्न दिनसक्छ । यहाँ लहै लहैको भरमा खरीदबिक्रीको निर्णय जसले गर्छ, उसले यो बजारमा गुमाउने मात्र हो ।'