काठमाण्डौ । चालु शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ ।
परीक्षा बिहान ८ बजेदेखी शुरू हुनेछ । यो वर्षको परीक्षामा देशभरका २ हजार ७९ परीक्षा केन्द्रबाट ५ लाख १४ हजार ७१ जना सहभागी हुँदैछन् ।
यस वर्ष जापानको परीक्षा केन्द्रबाट २९ जना विद्यार्थीले एसईई दिँदै छन् । यस्तै केन्द्रीय कारागार सुन्धारा र एउटा दैलेख कारागारमा पनि परीक्षा केन्द्र तोकिएका छन् । यस वर्ष सबैभन्दा धेरै विद्यार्थी काठमाण्डौमा ३९ हजार ६ सय जना र सबैभन्दा कम परीक्षार्थी मनाङमा ४३ जना छन् ।
एसईई परीक्षा आगामी चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आउँदो असार ७ गतेभित्र निकाल्ने जनाएको छ ।