काठमाण्डौ । हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने भएको छ । लामो समयदेखि बन्द रहेको उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएसँगै पुनःउत्पादन सुरु गर्ने तयारी भएको हो ।
उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ केही मौज्दात रहेको र केही आउने सुनिश्चितता भइसकेको जनाइएको छ । उद्योग सञ्चालनका लागि विद्युत् आपूर्ति पनि सहज बनाइएको छ ।
उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मत गर्नुपर्ने भएकाले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योग बन्द हुँदा कर्मचारीले विगत तीन महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् ।
विसं २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । तर आर्थिक समस्यालगायतका कारण उद्योग बन्द भएको थियो ।
एक पछि अर्को समस्यासँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगले गत २०८१ भदौ महिनाको तेश्रो साताबाट पुनःसिमेन्ट उत्पादन सुरु गरेपनि मेसिन मर्मत गर्नुपर्ने भएपछि असोज १५ गतेदेखि उद्योग बन्द भएको थियो । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको सो उद्योग आर्थिक समस्यालगायतका कारण थलिएको छ ।