काठमाण्डौ । तीनकुनेमा राजावादीहरुको प्रदर्शन र विरोध कार्यक्रम बिथोलिएको छ । केहीबेरअघिदेखि त्यहाँ दोहोरो झडप भइरहेको छ । राजावादी प्रदर्शनकारीहरु निषेधित घेरा तोडेर बानेश्वरतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा दोहोरो झडप हुन पुगेको हो । झडपका क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामूडा प्रहार गरेका थिए । प्रहरीले पनि टियरग्याँस प्रहार गरेपछि अवस्था तनावग्रस्त बन्न पुगेको थियो ।
विभिन्न क्षेत्रबाट तीनकुनेमा राजावादी प्रदर्शनकारीहरु आउने क्रम जारी रहेकै बेला झडप भएपछि कार्यक्रम बिथोलिएको हो । प्रहरीले हस्तक्षेप गरी केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको भन्दै सरकार र प्रधानमन्त्रीविरुद्ध चर्का नाराबाजी गर्दै प्रदर्शनकारीहरु त्यहाँबाट तितरबितर भएका छन् ।
प्रदर्शनलाई सम्बोधन गर्न त्यहाँ आउने क्रममा रहेका नेताहरुले समेत कार्यक्रमस्थल छाडेका र कतिपय बाटोमै रोकिएका दाबी गरिएको छ ।