काठमाण्डौ । राजावादी प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेकै समयमा तीनकुनेस्थित एक निजी घरमा भीषण आगलागी सुरु भएको छ।
प्रहरीले प्रदर्शनकारीमाथि प्रहार गरेको टियरग्यास घरतिर गई आगो लागेको प्रारम्भिक आशंका गरिए पनि यथार्थ कारण भने खुल्न सकेको छैन ।
एकातिर झडप जारी छ भने अर्कोतर्फ विभिन्न कार्यालय, व्यापारिक फर्म समेत सञ्चालनमा रहेको तीनकुनेको निजी घरमा आगो समेत दन्किरहेको छ । घरभित्र मानिसहरु रहेका हुनसक्ने र उनीहरुको उद्धारको विषयमा कुनै पनि पक्षले ध्यान दिएको छैन ।

भवनमा भइरहेको भीषण आगलागी नियन्त्रणमा लिन केहीबेरअघि वारुणयन्त्र आएपनि त्यसलाई समेत राजावादी प्रदर्शनकारीहरुले ढुंगामूडा गरी भगाएका हाम्रा संवाददाताले जनाएका छन् ।
राजावादीहरुको ढुंगा प्रहार र प्रहरीको जवाफी प्रहारपछि भइरहेको झडपका कारण तीनकुनेको मुख्य चौक क्षेत्रमा निजी घर तथा व्यापारिक भवनहरुमा समेत निकै ठूलो क्षति पुगेको छ । तीनकुने क्षेत्रको प्रभू कम्प्लेक्स लगायतका भवनहरुको सिसा छिया छिया भएको तस्विरहरुमा देखिएको छ ।

यसैबीच, प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागी एकजना महिला प्रहरी घाइते भएकी छिन् । केही प्रदर्शनकारी समेत घाइते भएका छन् ।