काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले काठमाण्डौको तीनकुने र आसपासको केही क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचनामार्फत आज अपरान्ह ४ः२५ बजेदेखि राति १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कफ्र्यू आदेश जारी गरेको हो ।
बानेश्वर तीनकुने क्षेत्रलाई मुख्य कफ्र्यू लाग्ने क्षेत्र तोकी त्यसका चारकिल्लामा समेत सोही आदेश लागू हुने बताइएको छ । जसअनुसार गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, बानेश्वर चोकदेखि शंकमूल पुलसम्म तथा गौशाला चौकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चौकसम्म कफ्र्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनाएका छन् ।
यी स्थानहरुमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने सूचनामा उल्लेख छ ।