काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले काठमाण्डौको तीनकुने र आसपासको केही क्षेत्रमा लगाएको कर्फ्युको समयावधि बढाएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचनामार्फत आज अपरान्ह ४ः२५ बजेदेखि राति १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम लागू भएको कर्फ्यु आदेश भोलि बिहान ७ बजेसम्म कायम हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भर्खरै अर्को एक सूचनामार्फत कर्फ्युको समयावधि लम्ब्याउँदै भोलि बिहान ७ बजेसम्म कायम हुने जानकारी दिएका हुन् ।
बानेश्वर तीनकुने क्षेत्रलाई मुख्य कर्फ्यु लाग्ने क्षेत्र तोकी त्यसका चारकिल्लामा समेत सोही आदेश लागू हुने बताइएको छ । जसअनुसार गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, बानेश्वर चोकदेखि शंकमूल पुलसम्म तथा गौशाला चौकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चौकसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।
यी स्थानहरुमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने सूचनामा उल्लेख छ ।

यसैबीच, कर्फ्यु जारी गरिएका क्षेत्रहरुका कारण त्रिभुवन विमानस्थलबाट विभिन्न गन्तव्यहरुका लागि हवाई यात्रा गर्ने यात्रुहरुको सहजताका लागि उनीहरुले काटेको टिकट र परिचयपत्रका आधारमा आवातजावत गर्न दिइने व्यवस्था समेत लागू गरिएको बताइएको छ । प्रशासन कार्यालयले सम्बन्धित सबै सुरक्षा निकायहरुलाई टिकट र आधिकारिक परिचयपत्रको आधारमा हवाई यात्रुहरुलाई सहजीकरण गर्न समेत निर्देशन दिएको छ ।