काठमाण्डौ । सरकारले राजावादी आन्दोलनको अगुवाई गर्ने तथा शुक्रबार तीनकुनेको प्रदर्शनमा सक्रिय सहभागिता जनाउने नेताहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।
यो क्रममा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको छ ।
उनीहरुलाई विभिन्न अस्पतालमा घाइते भई उपचार गराइरहेकाहरुलाई भेटेर फर्किने क्रममा प्रहरीले काठमाण्डौको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले मिश्र र राणालाई शुक्रबारको घटनाबारे अनुसन्धानका लागि नियन्त्रण लिइएको प्रष्ट पारेको छ । शुक्रबार तीनकुनेमा हिंसा भड्किनु पछाडि मिश्र र राणाको समेत विशेष भूमिका रहेको प्रहरीको विश्लेषण छ ।
यस्तै, राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई समेत प्रहरीले पक्राउ गरेको छ ।
नेपाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो । स्वागत नेपाल पनि आन्दोलनमा घाइते भएकाहरुलाई भेट्न अस्पताल पुगेका थिए । सोही क्रममा प्रहरीले उनलाई पक्रेको हो । उनीसँगै सेफर्ड लिम्बु र सन्तोष तामाङ पनि पक्राउ परेका छन् ।
यसैबीच, राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी गौरीघाटस्थित घरमै नजरबन्दमा परेका छन् । उनलाई आफ्नै निवासमा सरकारले नजरबन्द गरेको स्रोतहरुको दाबी छ ।
राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाई भने प्रहरी पक्राउ गर्न पुग्नुअघि नै भक्तपुरस्थित निवासबाट फरार छन् ।
प्रहरीले राजावादी आन्दोलनमा सक्रिय अरु नेता तथा अगुवाहरुलाई समेत नियन्त्रण लिई अनुसन्धान गर्ने रणनीति बनाएको छ ।