काठमाण्डौ । गत चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन्। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसबारे आफ्नो फेसबुकमार्फत जानकारी दिएका हुन् ।
सुवेदीले फेसबुकमा लेखेका छन्, ‘हिजो बैशाख २ गतेको आन्दोलनमा सहभागी सबै साथीहरुलाई धन्यवाद । आज बैशाख ३ गते सदा झैं ठिक १२ः०० बजे माइतीघर मण्डला आइपुग्नु होला । हाम्रो आन्दोलन जारी छ ।’
यस्तै उनले आन्दोलन निर्णायक मोडमा पुगेको बताउदै आफूहरुले उठाएका विषयमा राज्य अनुदार देखिएको बताएका छन् । ‘त्यसैले अझ बढी प्रतिबध्दता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन,’ उनले लेखेका छन् ।
उनले देशभरबाट आन्दोलनलाई साथ समर्थन गर्न काठमाण्डौ आउन समेत आह्वान गरेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा विधेयक चाँडै पास गर्नेगरी संसदको अधिवेशन आह्वान गरिएकाले आन्दोलन रोकेर शिक्षकहरूलाई कार्यक्षेत्र फर्कन आह्वान गरेको थियो। यस्तै सरकारले वैशाख १२ गतेदेखि बस्नेगरी संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
तर शिक्षकहरुले सरकारको आह्वानलाई बेवास्ता गर्दै आन्दोलन जारी राख्ने भएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।