काठमाण्डौ । चैत महिनामा यो आर्थिक वर्षकै सर्वाधिक घरजग्गा कारोबार भएको छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चैत महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ३९ करोड ४६ लाख ८६ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
गत फागुनमा भने सरकारले घरजग्गा कारोबारबाट चार अर्ब १२ करोड रूपैयाँ राजश्व उठाएको थियो ।
चैतमा देशभर ४९ हजार ८ सय ३२ वटा घरजग्गा कारोबार भएको विभागले जनाएको छ । यो फागुन महिनाको तुलनामा ८.१८ प्रतिशतले बढी हो। फागुनमा भने देशभरमा ४६ हजार ६१ संख्यामा घरजग्गा कारोबार भएको थियो।
यस्तै चैतमा १ लाख ४७ हजार ४ सय १६ वटा घरजग्गासम्बन्धी कारोबार भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म भने कुल ११ लाख २५ हजार ३८८ वटा कारोबार भएको छ ।
यस्तै चैतमा ५४ हजार २ सय ७९ लिखत पारित भएको छ । जुन चालु आवकै उच्च हो । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म घरजग्गा कारोबारबाट ३३ अर्ब २२ करोड ४८ लाख ७८ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
सरकारले घरजग्गा कारोबारबाट साउनमा ३ अर्ब ८३ करोड ५० लाख, भदौ ३ अर्ब ९ करोड २ लाख, असोजमा ३ अर्ब ८ करोड १२ लाख, कात्तिकमा २ अर्ब ७० करोड ४० लाख, मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख, पुसमा ४ अर्ब २५ करोड २२ लाख, माघमा ३ अर्ब ८७ करोड २४ लाख, फागुनमा ४ अर्ब १२ करोड रुपैयाँ राजश्व उठाएको छ ।