काठमाण्डौ । ‘रिलायबल सामूहिक लगानी कोष’मा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबद्र्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘रिलायबल सामूहिक लगानी कोष’अन्तर्गत सञ्चालन हुने पहिलो बन्दमुखी योजना ‘रिलायबल समृद्धि योजना’ को सार्वजनिक निष्कासन गत वैशाख ३ गतेदेखि गरिएको थियो ।
१ अर्ब रुपैयाँबराबरको यो योजनाको इकँई खरिदका लागि छिटोमा वैशाख ७ गते र ढिलोमा वैशाख १७ गतेसम्म आवेदन दिने समय दिइएको थियो । तर माग बमोजिम आवेदन नपरेकाले यो योजनामा आवेदन दिने थप वैशाख १७ गतेसम्म लम्बाइएको थियो ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले आज एक सूचना जारी गरी मागभन्दा बढी आवेदन परेकाले आज बैंकिङ समयपश्चात आवेदन लिने कार्य बन्द गरिने जनाएको छ ।
यो योजनाको ८ करोड ५० लाख इकाई अथवा रु ८५ करोड रुपैयाँबराबरको सार्वजनिक निष्काशनमार्फत बिक्रि खुल्ला छ ।
यो योजना बन्दमुखी प्रकृतिको योजना भएकोले यसका इकाईहरु धितोपत्र बजारमा सूचिकरण भई सार्वजनिक निष्काशनपश्चात सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम धितोपत्र बजारमा खरिद बिक्रि गर्न सकिनेछ । यो योजना नेपालमा बीमा क्षेत्रबाट कोष प्रबद्र्धन गरिएको पहिलो सामूहिक लगानी कोष हो । यस योजनाको वार्षिक औषत प्रतिफल १७।७३ प्रतिशत प्रक्षेपण गरिएको छ ।
इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु १ हजारदेखि अधिकतम रु १० करोड सम्म लगानीका लागि सी–आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगईन गरी अनलाईन आवेदन गर्न सक्नेछ । कम्पनीले सेयरधनीहरुलाई उत्कृष्ट प्रतिफल दिने प्रतिवद्धता गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।