काठमाण्डौ । अझैपनि एक दर्जन बीमा कम्पनीको लाभांशसम्बन्धी निर्णय हुन बाँकी नै छ । हालसम्म १३ बीमा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्, जसमा ५ जीवन बीमा कम्पनी छन् भने ८ निर्जीवन बीमा कम्पनी छन् ।
जीवन र निर्जीवन गरी नेप्सेमा कुल २४ कम्पनी (लघुबीमक बाहेक) सूचीकृत छन् । आधा बीमा कम्पनीले लाभांश घोषणा गर्दा आधा बीमकहरुको भने घोषणा हुन बाँकी नै छ । लाभांश घोषणा वा सो सम्बन्धी निर्णयमा ढिलाई हुँदा बीमा कम्पनीको सेयरमा लगानीकर्ताहरुको मोह हराउँदै गएको छ ।
नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुको तुलनामा बीमा कम्पनीको लाभांश घोषणा ढिला नै हुने गर्दछ । बीमा कम्पनीहरुको लेखापरीक्षणको कार्यमा ढिलाई र जीवन बीमकहरुको बीमाङ्कीय मूल्यांकन गराउनुपर्ने व्यवस्थाले गर्दा बीमा कम्पनीको लाभांश घोषणा अन्य कम्पनीको तुलनामा केही समय ढिला हुने गर्दछ ।
सामान्यतया बीमा कम्पनीहरुको लागि फागुन र चैत महिना लाभांश सिजन मानिन्छ । तर वैशाखको दोस्रो सातासम्म आइपुग्दा पनि आधा बीमा कम्पनीले मात्रै लाभांश प्रस्ताव गर्ने वा नगर्ने निर्णय गरेका छन् ।
लाभांश घोषणा गर्न अधिकांश जीवन बीमा कम्पनीहरु बाँकी छन् । बीमाङ्कीय मूल्यांकन गराउन ढिला हुँदा जीवन बीमा कम्पनीहरुले समयमा लाभांश प्रस्ताव र साधारण सभा गर्न सकिरहेका छैनन् ।
लाभांश घोषणा गरिसकेका बीमा कम्पनीहरुले बोनस भन्दा बढी नगद लाभांशमा नै जोड दिएका छन् । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन निर्देशन दिएबमोजिम बीमा कम्पनीहरुले पनि तोकेको पूँजी जुटाउन मात्रै बोनस प्रस्ताव गरेका छन् ।
अपुग पूँजी बराबरको बोनस सेयर जारी गरि तोकिएको पूँजी पुर्याउने बीमा कम्पनीहरुको योजना रहेको छ । साथै केही कम्पनीहरुले हकप्रदमार्फत नै तोकेको पूँजी पुर्याउने योजनामा छन् । त्यस्ता कम्पनीहरुले पनि बोसन भन्दा बढी नगद लाभांशमा नै बढी जोड दिन सक्ने देखिन्छ ।
