काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य ०.२२ प्रतिशत अर्थात ७.३९ डलरले बढेको छ । यो मूल्यवृद्धि सँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ३४१ डलर कायम भएको छ ।
अमेरिकार चीनबीचको व्यापारिक छलफल अन्तिम मोडमा पुगेसँगै बढेको अनिश्चितता र विश्व बैंकले यो वर्षको लागि विश्वको आर्थिक वृद्धिदरमा कटौती गरेसँगै सुनको मूल्य उकालो लागेको हो ।
बेलायतको लण्डनमा अमेरिकी र चिनियाँ प्रतिनिधिहरु दुई देशबीचको व्यापारलाई लयमा फर्काउदै दुर्लभ खनिजमाथि चीनले लगाएको बन्देज हटाउन सहमत भएका छन् । दुई दिनसम्म भएको छलफलको अन्तिम निर्णय हुन बाँकी रहेको छ ।
तर दुवै देशका राष्ट्रपतिले अन्तिम निर्णय नगर्दासम्म यो विषयमा अनिश्चितता कायमै रहने विज्ञहरुले बताएका छन् ।
यस्तै विश्व बैंकले सन् २०२५ का लागि विश्वको वृद्धिदर घटाउदै २.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज ०.०७ डलरले घट्दै प्रतिऔंस ३६.५९ डलरमा कारोबार भईरहेको छ ।