काठमाण्डौ । इजरायलले हुथी नियन्त्रित यमनका तीन बन्दरगाह र एउटा पावर प्लान्टमा आक्रमण गरेको जनाएको छ । इजरायली सेनाले हवाई हमलाका कारण होडेडा, रस इसा र सैफ बन्दरगाहसँग जोडिएका इलाकामा बसोबास गर्ने सर्वसाधारणलाई इलाका खाली गर्न चेतावनी दिएको छ।
यस्तो चेतावनी दिएको केही समयपछि आक्रमण भएको थियो । इजरायलका रक्षामन्त्री इजरायल काट्जले सामाजिक सञ्जालमा ग्यालेक्सी लिडर नामक व्यावसायिक जहाज पनि यसमा समावेश भएको पुष्टि गरेका छन् । इजरायलले सन् २०२३ मा विद्रोही समूहले अपहरण गरेको उक्त जहाज अन्तर्राष्ट्रिय जलक्षेत्रमा रहेका जहाजहरूको निगरानीका लागि प्रयोग भइरहेको जनाएको छ।
यस हमलापछि इजरायली सेनाले यमनबाट दुईवटा मिसाइल प्रहार गरी रोक्ने प्रयास गरिएको बताएको छ । यमनमा हुथीद्वारा सञ्चालित सञ्चारमाध्यमले आक्रमण स्वीकार गरे पनि क्षति वा हताहतको बारेमा कुनै जानकारी दिएनन्। इजरायलका रक्षामन्त्री इजरायल काट्जले यी आक्रमणहरू अपरेशन ब्ल्याक फ्ल्यागको हिस्सा भएको बताएका छन्। उनले हुथीहरूले उनीहरूको गतिविधिको लागि ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
‘यमनको नियति तेहरानको जस्तै छ। इजरायललाई हानि पुर्याउने प्रयास गर्ने जोसुकैलाई हानि हुनेछ, र जसले इजरायल विरुद्ध हात उठायो उसको हात काटिनेछ,’ उनले ट्वीटरमा लेखेका छन्।
इजरायल–हमास युद्ध सुरु भएदेखि, इरान–समर्थित हुथी विद्रोहीहरूले इजरायलमा नियमित रूपमा मिसाइल आक्रमणहरू सुरु गरेका छन् र गाजामा प्यालेस्टाइनीहरूसँग ऐक्यबद्धतामा लाल सागरमा व्यावसायिक शिपिंगलाई लक्षित गरेका छन्।
इजरायली वायुसेनाले हुथीहरूले गरेको आक्रमणको जवाफमा यमनको बन्दरगाहमा आक्रमण गरेको बताएको छ।