काठमाण्डौ। विश्व स्मार्टफोन बजारमा एन्ड्रोइडको हिस्सा करिब ७० प्रतिशत रहेको छ भने एप्पलको आइफोनको बजार हिस्सा तुलनात्मक रूपमा कम छ। तर, कम फोन बिक्री हुँदाहुँदै पनि एप्पलले अधिकांश एन्ड्रोइड स्मार्टफोन उत्पादक कम्पनीहरूको संयुक्त नाफाभन्दा बढी आम्दानी गर्दै आएको छ। यसको मुख्य कारण कम्पनीको प्रिमियम रणनीति, बलियो इकोसिस्टम र सेवामूलक व्यवसायको निरन्तर विस्तार हो।
एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्ने सयौँ कम्पनीहरूले बजेटदेखि प्रिमियमसम्मका स्मार्टफोन उत्पादन गर्छन्। बजेट र मिड–रेन्ज स्मार्टफोनमा प्रतिस्पर्धा तीव्र हुने भएकाले नाफाको मार्जिन पनि कम हुन्छ। तर, एप्पलले मुख्य रूपमा प्रिमियम मूल्यका आइफोन बिक्री गर्ने रणनीति अपनाएको छ, जसका कारण प्रत्येक डिभाइसबाट कम्पनीले उल्लेखनीय नाफा आर्जन गर्छ। बजार विश्लेषकहरूका अनुसार, कम संख्यामा स्मार्टफोन बिक्री गरे पनि एप्पलले विश्व स्मार्टफोन उद्योगको ठूलो हिस्सा सञ्चालन नाफा आफ्नो पक्षमा पार्दै आएको छ।
एप्पलको आम्दानी केवल आइफोन बिक्रीमा सीमित छैन। आइफोन खरिद गरेपछि धेरै प्रयोगकर्ताले आईक्लाउड प्लस, एप्पल म्युनिक, एप्पल टिभी प्लस, एप्पल आर्केड र एप्पल केयर जस्ता सेवाहरूको सदस्यता लिन्छन्।
साथै, एप्पल स्टोर मार्फत हुने डिजिटल खरिदबाट पनि कम्पनीले कमिसन प्राप्त गर्छ। यसले एप्पललाई एउटै ग्राहकबाट वर्षौँसम्म नियमित आम्दानी दिलाइरहेको छ।
एप्पलका धेरै प्रयोगकर्तासँग एप्पल वाच, एयरपड,आईप्याड र म्याक जस्ता अन्य उत्पादन पनि हुन्छन्। एयरड्रप,ह्यान्डअफ,आईक्लाउड सिङ्क र कन्टिन्युटी जस्ता सुविधाले यी सबै उपकरणलाई सहज रूपमा जोड्ने भएकाले प्रयोगकर्ताहरू अर्को स्मार्टफोन खरिद गर्दा पनि एप्पलकै उत्पादन रोज्ने सम्भावना बढी हुन्छ। यसले कम्पनीको ग्राहक निष्ठा बलियो बनाउनुका साथै बजारमा स्थिर माग कायम राख्न मद्दत गर्छ।
स्मार्टफोन उद्योगमा सबैभन्दा धेरै फोन बिक्री गर्नु नै सफलताको मापन होइन। एन्ड्रोइडको ठूलो बजार हिस्सा विभिन्न मूल्यका स्मार्टफोन बिक्री गर्ने अनेक कम्पनीहरूको योगदान हो।
तर, एप्पलले सीमित मोडल, उच्च औसत बिक्री मूल्य, सेवामूलक आम्दानी, बलियो ब्रान्ड निष्ठा र हार्डवेयर–सफ्टवेयरको उत्कृष्ट समन्वयमार्फत उद्योगकै अग्रणी नाफा कमाइरहेको छ। एप्पलको रणनीति धेरै फोन बेच्नेभन्दा पनि प्रत्येक ग्राहकबाट दीर्घकालीन मूल्य सिर्जना गर्नेमा केन्द्रित रहेको देखिन्छ।

