काठमाण्डौ । जापानको टोकियोस्थित टोकियो बिग साइट अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बिहीबारदेखि सुरु भएको चारदिने ‘जापान टुरिजम एक्सपो २०२६’ मा नेपालले सक्रिय सहभागिता जनाएको छ।
‘भ्रमणको बदलिँदो स्वरूप’ भन्ने मूल नाराका साथ आयोजित एक्सपोमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका नौ वटा पर्यटन व्यवसायी कम्पनी तथा होटल सहभागी छन्। बोर्ड र निजी क्षेत्रले संयुक्त रूपमा जापानी बजारमा नेपालको पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्पर्क विस्तार तथा गन्तव्यबारे विश्वास अभिवृद्धिमा जोड दिएका छन्।
जापान ट्राभल एन्ड टुरिजम एसोसिएसन, जापान एसोसिएसन अफ ट्राभल एजेन्ट्स (जाटा) र जापान नेसनल टुरिजम अर्गनाइजेसन (जेएनटीओ) को संयुक्त आयोजनामा भइरहेको एक्सपोको यो १२औँ संस्करण हो।
उद्घाटन समारोहमा जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गरेकी थिइन्।
यस वर्षको एक्सपोमा नेपालसहित ७४ देश तथा जापानका ४६ प्रान्तबाट १ हजार ४२० कम्पनी तथा संस्था सहभागी छन्। एक्सपोमा कुल १ हजार ५५३ बुथ राखिएका छन् भने अन्तर्राष्ट्रिय सहभागीका लागि मात्रै ५९७ स्टल छुट्याइएको छ।
आयोजकका अनुसार चार दिनमा करिब १ लाख ८० हजार पर्यटन व्यवसायी तथा आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ।
जापानी बजारमा नेपालको प्रत्यक्ष बजारीकरण
जापानी पर्यटकका लागि नेपालको हिमाली गन्तव्य, लुम्बिनी, सांस्कृतिक सम्पदा, पदयात्रा, प्रकृति तथा जैविक विविधता प्रमुख आकर्षणका रूपमा रहँदै आएका छन्।
यही बजारलाई लक्षित गर्दै एक्सपोमा सहभागी नेपाली व्यवसायीले जापानी ट्राभल एजेन्सी, टुर अपरेटर तथा उपभोक्तासमक्ष नेपालको पर्यटन उत्पादन र सेवाको प्रत्यक्ष बजारीकरण गरिरहेका छन्।
एक्सपोको पहिलो दुई दिन सेप्टेम्बर २४ र २५ लाई व्यावसायिक सहकार्यका लागि केन्द्रित गरिएको छ। यस अवधिमा पूर्वनिर्धारित ६ हजार ४५४ वटा बीटुबी बैठक आयोजना भइरहेका छन्। ती बैठकमा ८५५ क्रेता र १ हजार १९ विक्रेता सहभागी छन्।
त्यस्तै, सेप्टेम्बर २६ र २७ मा सर्वसाधारणलाई लक्षित गरी बीटुसी कार्यक्रम सञ्चालन हुनेछ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत प्रदीप गैरेका अनुसार पहिलो दिनदेखि नै नेपाली पर्यटन व्यवसायीले जापानी ट्राभल एजेन्सी तथा व्यवसायीसँग व्यावसायिक भेटवार्ता गरिरहेका छन्।
उनका अनुसार बैठकमा नेपाली व्यवसायीले जापानी बजारका लागि पर्यटन प्याकेज, पदयात्रा तथा अन्य पर्यटकीय सेवाबारे जानकारी दिनुका साथै हालैको भोटेकोशी बाढीपछि नेपालको पर्यटन क्षेत्रको वास्तविक अवस्था, पर्यटकीय गन्तव्य तथा पदयात्रा मार्गको अवस्था र पर्यटक सुरक्षाबारे समेत स्पष्ट पारिरहेका छन्।
“जापानी पर्यटन व्यवसायीलाई नेपालको वर्तमान पर्यटन अवस्था र प्रमुख गन्तव्यहरू सञ्चालनमा रहेको विषयमा तथ्यगत जानकारी दिँदै बजारमा विश्वास बढाउने प्रयास भइरहेको छ,” गैरेले बताए।
विपद्पछि पनि ‘नेपाल खुला छ’ भन्ने सन्देश
नेपाल पर्यटन बोर्डका अर्का वरिष्ठ अधिकृत युवराज गुरुङले नेपाल र जापानबीचको लामो समयदेखिको पर्यटन तथा जनस्तरीय सम्बन्धलाई अझ बलियो बनाउन एक्सपो महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च भएको बताए।
हालैको प्राकृतिक विपद्पछि पनि अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको उपस्थिति निरन्तर कायम राख्नु आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता मञ्चमार्फत नेपालका पर्यटकीय गन्तव्य सञ्चालनमा छन् र पर्यटक स्वागतका लागि तयार छन् भन्ने सन्देश प्रवाह गर्न सकिने बताए।
एक्सपोमा नेपाल पर्यटन बोर्डसँगै गोचाली टुर एन्ड ट्राभल्स, सुमेघ टुर्स एन्ड ट्राभल्स, हिमालयन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्स्पेडिसन, लाङटाङ री ट्रेकिङ एन्ड एक्स्पेडिसन, घले ट्रेक्स एन्ड एक्स्पेडिसन, बुद्ध माया गार्डेन्स, रुपाकोट रिसोर्ट, छायाँदेवी कम्प्लेक्स (अलोफ्ट काठमाडौं ठमेल) र गोरखा इन्टरनेसनल ट्राभल्स सहभागी छन्।
चारदिने एक्सपो अवधिभर नेपालको स्टलमा आउने जापानी तथा अन्तर्राष्ट्रिय आगन्तुकलाई श्रव्य–दृश्य सामग्री, ब्रोसर तथा अन्य प्रवर्द्धनात्मक सामग्रीमार्फत नेपालको प्रमुख पर्यटकीय गन्तव्य, गतिविधि र सेवाबारे जानकारी दिइनेछ।
साथै, बीटुबी र बीटुसी दुवै माध्यमबाट जापानी बजारमा नेपालको पर्यटन उत्पादनको प्रत्यक्ष प्रवर्द्धन, नयाँ व्यावसायिक सम्पर्क निर्माण तथा पर्यटक आगमन बढाउने उद्देश्यलाई प्राथमिकतामा राखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।