काठमाण्डौ । देशभर हालसम्म ५९ प्रतिशत अर्थात् आठ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास निर्देशनालयका अनुसार देशभर ८ लाख १६ हजार ४०५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको हो ।
गत वर्ष यस भने यो अवधिसम्म ६७.७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष वर्षा समयमै सुरु भएर बिउ राखिए पनि रोप्ने बेलामा कम पानी परेकाले रोपाइँ भने कम भएको बाली विकास निर्देशनालयले जनाएको छ । आइतबारसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९३.१ अर्थात् १ लाख ६३ हजार ९९३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।
यस्तै कर्णाली प्रदेशमा ८३.२३ प्रतिशत अर्थात् ३४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । लुम्बिनी प्रदेशमा ७३.६८ प्रतिशत अर्थात् २२ हजार ३२१ हेक्टर, गण्डकी प्रदेशमा ६६.९९ प्रतिशत अर्थात् ६३ हजार हेक्टरमा,बागमती प्रदेशमा ७६.३१ प्रतिशत अर्थात् ९१ हजार ९८३ र कोशी प्रदेशमा ४१.३२ प्रतिशत अर्थात् १ लाख १४ हजार २११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
निर्देशनालयका अनुसार सबैभन्दा कम मधेश प्रदेशमा ३३.७८ प्रतिशत अर्थात् १ लाख २५ हजार ८८८ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ । यस वर्ष १३ लाख ८३ हजार ७३२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ ।