काठमाण्डौ । भारतको मुम्बईमा विश्वका धनी व्यापारी एलन मस्कको कम्पनी टेस्लाको पहिलो शोरुम खुलेको छ । आजदेखि भारतको मुम्बईको बान्द्रा–कुर्ला कम्प्लेक्समा टेस्लाको पहिलो शोरुम खुलेको हो ।
हाल भारतमा मोडल वाई कार मात्रै बिक्री हुनेछ । यसको मूल्य ६० लाख भारुबाट सुरु हुनेछ। यो अमेरिकाको भन्दा २८ लाख भारु बढी हो । टेस्ला शोरुमको उद्घाटन समारोहमा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस पुगेका थिए। यो शोरुमले ग्राहकहरुका लागि अनुभव केन्द्रको रूपमा काम गर्नेछ। यसको अर्थ यहाँ सवारीसाधन मात्र बिक्री हुने छैन, मानिसहरूले टेस्लाको प्रविधि र सुविधाहरू पनि नजिकबाट हेर्न सक्नेछन्।
आगामी दिनमा कम्पनीले स्थानीय उत्पादनलाई जोड दिने योजना बनाएको छ, जसले मूल्य घट्न सक्ने जनाइएको छ । यद्यपि, टेस्लाले अहिलेसम्म आफ्नो उत्पादन योजनाको बारेमा केही पनि खुलाएको छैन ।
टेस्लाको वेबसाइटका अनुसार मोडल वाईलाई भारीतय ग्राहकले जुलाई १५ बाट अर्डर गर्न सक्नेछन्।