काठमाण्डौ । लामो समयसम्म साइडवेजमा चलेको सेयरबजारले मौद्रिक नीतिपश्चात लय समात्न थालेको छ । नेपाल राष्ट्र बैंकले आव २०८२/८३ को मौद्रिक नीतिमार्फत सेयरबजारका लागि सकारात्मक नीति ल्याएका कारण सेयर लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत व्यक्तिगततर्फको सेयर धितो कर्जाको सीमा बढाइदिएपछि लगानीकर्ताहरु उत्साहित बन्न पुगेका हुन् । यसअघि व्यक्तिगततर्फको सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँ रहेकोमा केन्द्रीय बैंकले १० करोड रुपैयाँ थपेर २५ करोड रुपैयाँसम्म पुर्याएको छ ।
बजारको लागि मौद्रिक नीति सकारात्मक आउनु र बैंकहरुको ब्याजदर सस्तो हुनुले बजारमा नयाँ लगानी थपिन सक्ने देखिन्छ । यसले बजारलाई चलायमान बनाउन सहयोग पुग्ने लगानीकर्ताहरुको अनुमान छ ।
पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता पनि फालाफाल रहेको हुँदा अबको सेयरबजार बुलिस सेन्टिमेन्टमा देखिने लगानीकर्ताहरुले अनुमान लगाइरहेका छन् ।
नेपाली पुँजीबजारको इतिहास हेर्दा साउन र भदौ महिना भनेको सेयरबजार बुलिस ट्रेन्डमा चल्ने सिजन पनि मानिन्छ । यसर्थमा पनि असार मसान्तको प्रेसर सकिएसँगै अब बजारले गति लिने सेयर विज्ञ वा लगानीकर्ताहरुको धारणा रहेको छ ।
तर बजार जति–जति बुलिस सेन्टिमेन्टमा चल्छ उति नै फसिने जोखिम पनि बढ्दै जाने सम्भावना रहेको छ । विगतमा सेयरबजारले बुलिस ट्रेन्ड समात्दा भित्रि चलखेल हुने, इन्साइडर ट्रेडिङ हुने र कम्पनीहरुको सेयरमूल्य किटान गरेर दुष्प्रचार गरी बजार प्रभावित पार्ने खालका अफवाह फैलाउने कार्यहरु हुने गरेका थिए । जसका कारण साना तथा नयाँ लगानीकर्ताहरु बढ्दो बजारमा नाफा बुक गर्नुभन्दा बढी फस्ने सम्भावना बढ्दै जाने देखिन्छ ।
आव २०८२–८३ सुरु भएलगत्तै बजार अब बुलिस टे«न्डमा चल्ने सेयर विज्ञहरुको धारणा छ, तर यस्तो अवस्थामा विशेषगरी नयाँ लगानीकर्ताहरुले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
अर्थशास्त्री तथा सेयर विज्ञ सूर्यनारायण पौडेल सेयरबजार जोखिमको क्षेत्र रहेकाले लगानीकर्ताहरु आफैं सचेत रहनुपर्ने बताउँछन् । ‘सेयरबजार आफैंमा जोखिमको क्षेत्र हो, जोखिम न्यूनीकरण गर्न बजार घटेको अवस्थामा सेयर किन्ने र बजार बढेको अवस्थामा सेयर कम गर्दै नाफा बुक गर्ने कुराको ज्ञान लगानीकर्तामा हुनुपर्छ’ उनले भने, ‘साथै नयाँ लगानीकर्ताहरुले विशेषतः सेयरबजारमा कुन कम्पनीमा बढी रेसिस्टेन्ट थियो र कहाँ बढी सप्लाई आइरहेको छ त्यस्तो अवस्था पनि नियाल्नुपर्ने हुन्छ ।’
अहिले धेरैजसो नयाँ लगानीकर्ताहरु सेयरबजारमा बढी टेक्निकल मात्रै हेर्ने प्रवृत्तिले पनि आफैं फस्ने जोखिम बढ्दै गएको पौडेलको भनाई छ । ‘पछिल्लो समय बजारमा नयाँ लगानीकर्ताहरु बढी टेक्निलमा बढी केन्द्रीत हुनुहुन्छ जसमा बजारको विषयमा राम्रो कुरा भनिरहेको हुन्छ, यसले गर्दा पनि कम्पनीको अन्य पक्षहरु थाहा नपाई लगानी गर्न हौसिनुहुन्छ’ उनले भने, ‘टेक्निकल विश्लेषण हेरेर बुकभ्यालु थोरै भएका कम्पनीलाई पनि लगानीकर्ताहरुले धेरै मूल्यमा उठाइरहनुभएको हुन्छ, यस्तो अवस्थाले त्यस्ता कम्पनीको सेयरभाउ केही दिनमै ह्वात्तै घट्ने हुन्छ र लगानी जोखिम हुन पुग्छ ।’
बुलिस मार्केटमा फन्डामेन्टल रुपमा कमजोर भएका कम्पनीमा गरेको लगानी बढी जोखिम हुने पौडेलको तर्फ छ । ‘फन्डामेन्टल रुपमा कमजोर भएका कम्पनीमा लगानी गर्न खोज्दै हुनुहुन्छ भने लगानीकर्ताले दुईवटा कुरा लेखेरै लगानी गर्न तम्सिनुपर्छ, पहिलो कुरा फलानो कम्पनीको सेयर के सम्भावना देखेर वा किन खरिद गर्न लागिएको र दोस्रो मैले लगानी कम्पनी यति भाउसम्म पुगेर यति प्रोफिट गर्छु भन्ने टार्गेट फिक्स गर्नुपर्छ’ उनले भने, ‘साथै बजारमा लगानीकर्ताहरु अनुशासित पनि हुन आवश्यक छ । बजार घटेपनि लगानीकर्ताहरु रिस्कलाई मिनिमाइज गरी यतिसम्म लस वियर गर्छु भनेर पहिल्यै रिकर्ड गरेर त्यस्तो सेयरहरु पनि बेच्च सक्ने हुनुपर्छ ।’
यसका साथै नयाँ लगानीकर्ताहरुले लगानी गर्नुअघि बुलिस मार्केटमा फन्डामेन्टल रुपमा बलिया कम्पनीहरु हेर्नुपर्ने उनी सुझाव दिन्छन् । ‘बढ्दो बजारमा फन्डामेन्टल रुपमा बलिया कम्पनीमा जोखिम कम हुने भएकाले कम्पनीको इपीएस, नेटवर्थ र व्यवसायको अवस्था हेर्नुपर्ने हुन्छ’ उनले भने, ‘कतिपय कम्पनीहरुको इपीएस र नेटवर्थ नराम्रो देखिन्छ तर त्यस्ता कम्पनीहरुको ग्रोथ हुने सम्भावना बढी देखिएको हुन्छ भने त्यस्ता कम्पनीको सेयरभाउ बढ्ने सम्भावना उच्च रहन्छ ।’
कम्पनीको सेयर किन्नुअघि त्यो कम्पनीको व्यवसायको किसिम र कति आम्दानी गरिरहेको छ, त्यो सबै हेरेर मात्रै लगानी गर्नुपर्ने उनको सुझाव छ । ‘पछिल्लो समय लगानीकर्ताहरु सेयर किनिसकेपछि मात्रै बल्ल कम्पनीको अवस्था केलाउन थाल्छन् यसरी नै बजारमा लगानी गर्ने ट्रेन्ड बिग्रिएको हो’ उनले भने, ‘नेपालको अवस्थामा ग्रुप बनाएर ट्रेडिङ गर्ने र किनेर फसिसकेपछि बल्ल कम्पनीको बारेमा अध्ययन गर्ने प्रवृत्ति छ, यसकारण लगानी गर्नुअघि कस्तो खालको कम्पनीमा लगानी गर्दैछु र भविष्यमा यो कम्पनीको व्यवसाय कति ग्रोथ देखिन्छ त्यो विश्लेषण गर्न आवश्यक छ ।’
साथै लगानीकर्ताहरुमा धैर्यता नहुँदा आफैं घाटा ब्यहोर्नुपर्ने अवस्था सिर्जना हुनसक्ने उनको तर्क छ । बजारमा लगानी गर्दा २०–३० रुपैयाँ नै फाइदा हुँदा सेयर फाल्ने र घटेको कम्पनी बढ्ला भनेर होल्ड गर्दा झनै घाटा ब्यहोर्ने अवस्था आउने उनको भनाई छ ।
‘लगानीकर्ताहरु बजार घट्दा सेयर नकिनि बस्ने तर जब बजार बढ्न थाल्छ आत्तिएर किन्ने गर्नुहुन्छ, सेयरबजारमा अप एण्ड डाउन भइरहन्छ तर कुनबेला सेयर किन्ने र कुन बेला बेच्ने त्यो ज्ञान लगानीकर्तामा हुनुपर्छ’ उनले भने, ‘एउटा सर्टेन टाइममा सेयरलाई पनि होल्ड गर्न सक्नुपर्छ, थोरै पैसा बढ्यो भन्दैमा बेचिहाल्नु हुँदैन, बरु हरेक क्यान्डलमा अघिल्लो दिनको क्यान्डल भन्दा ट्रेलिङको अवस्था कस्तो छ त्यो हेरेर केही समय होल्ड गरेर मात्रै सेयर बेच्ने गर्नुपर्छ ।’
त्यस्तै, अर्का अर्थशास्त्री तथा सेयर विज्ञ मुक्तिबहादुर खत्री पनि बढ्दो बजारमा चरम सेयर चलखेल हुन सक्ने हुँदा लगानीकर्ताहरु आफैं सचेत हुनुपर्ने तर्क गर्छन् ।
‘सेयरबजार जहिल्यै बढ्दैन यसमा जोखिम उत्तिकै हुन सक्छ, बजार बढेर फेरी घट्दा कतिसम्म रिस्क लिन सक्ने भन्ने क्षमता लगानीकर्तामा निर्भर रहन्छ’ उनले भने, ‘बजार बढ्दा यति नाफा बुक गर्छु र घट्दा यति सम्म रिस्क लिन्छु भन्ने बिचार लगानीकर्ता आफैंले गर्नुपर्छ, सेयरबजार आफैंमा जोखिमको क्षेत्र भएको हुँदा लगानी गर्नुअघि लगानीकर्ता एकदमै सचेत हुन आवश्यक छ ।’
साथै बजारमा हुनसक्ने यस्ता चलखेलको विषयमा नियामक निकायहरुले पनि भूमिका निर्वाह गर्नुपर्ने खत्रीको भनाई छ । ‘धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकलगायतका नियामक निकायहरुले जोखिम धेरै भएका कम्पनी र राम्रा कम्पनी छुट्याएर सूची तयार पार्न सके नयाँ लगानीकर्ताहरु फस्ने सम्भावना कम हुन सक्छ’ उनले भने, ‘यसबाहेक लगानीकर्ताहरु पनि आफ्नो तर्फबाट आफैं सचेत हुनुपर्छ, सामान्यतया कम्पनीको बुकभ्यालु र इपीएसको अवस्था भएपनि लगानीकर्ताले हेर्न आवश्यक छ ।’
फन्डामेन्टल रुपमा बलिया भएका कम्पनीमा लगानी गर्दा जोखिम नहुने र सेयरभाउ घटिहालेपनि धेरै घाटा हुनेगरी नघट्ने उनको तर्क छ । ‘सेयरबजार वा लगानीको क्षेत्रमा अत्यन्तै प्रसिद्ध व्यक्ति बेन्जामिन ग्राहमले पनि बजारमा लगानी गर्नुअघि जति कम्पनीको बुकभ्यालु छ त्यसको डबल प्राइससम्म लगानी गर्न उपयुक्त हुने भन्छन्, त्यसरी नै जुन फन्डामेन्टल रुपमा बलिया कम्पनी छन् ती कम्पनीहरुको सेयरभाउ घट्दो अवस्थामा उठाउँदा पछि उत्कृष्ट रिटर्न पाउन सकिने देखिन्छ’ उनले भने, ‘नेपाली सेयरबजारमा लगानीकर्ताहरु कम्पनीको अवस्था नबुझि यत्तिकै लहैलहैमा दौडिने प्रवृत्ति छ, कसैले भनेको भरमा सेयर उठाउँदा फस्ने सम्भावना उच्च रहन्छ ।’
साथै लगानीकर्ताहरु लक्षित गरि नियामक निकायसँगै सेयर ब्रोकरहरुले पनि समय–समयमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनी सुझाव दिन्छन् । सेयरबजार चलायमान हुन घट्ने बढ्ने दुबै हुन आवश्यक रहेको उनले बताए ।
‘सेयरबजारमा अप एण्ड डाउन ट्रेण्ड आएमा मात्रै बजार दिगो हुने सम्भावना रहन्छ, बजार लगातार बढेको पनि राम्रो होइन र घटेको पनि राम्रो होइन, घटबढ भइरहेको बजार दिर्घकालिनका लागि राम्रो मानिन्छ’ उनले भने, ‘यसमा लगानीकर्ताहरु आफैंमा सचेत हुुनुपर्छ, आफुले लगानी गर्न लागेको कम्पनीको विषयमा सबै पक्षहरु विश्लेषण गरेर मात्रै लगानी गर्छु भन्ने मनसाय बनाउनुपर्छ ।’