काठमाण्डौ । सेयर बजार यस्तो ठाँउ हो जहाँ कमाईको कुनै सीमा हुँदैन । यो क्षेत्रमा लागेर अथाह कमाउनेको कमी छैन यहाँ ।कमाउने मात्रै नभई सेयरबजारबाट गुमाउने पनि उत्तिकै छैन । समग्रमा सेयर बजार कमाउने र गुमाउनेको जमात भन्दा अतिशयोक्ती नहोला ।
यस्तै जमातमध्येका एक हुन्– माधव न्यौपाने । माधव न्यौपाने सेयर बजारका एक पुराना अनुभवी लगानीकर्ता हुन् । न्यौपाने पूँजीबजारमा २०६२/६३ सालतिर प्रबेश गरेका थिए । सेयरबजारमा लागेको २ दशकको अवधिमा उनले काठमाण्डौमा घर घडेरी र गाडी मात्रै जोडेका छैनन सेयर बजारकै कमाइबाट १२ वटा देश समेत घुमिसकेका छन् ।
नागरिक स्टक डिलरको फराकिलो आँगनको सितल छहारीको गोलाकार कुर्चिमा भेटिएका न्यौपानेको मुहारमा सेयरबजारमा लागेकोमा पश्चातापको कुनै भाव थिएन । ‘सेयर बजार मलाई फलिफाप नै भयो । यहीबाटै कमाएको पैसाले मैले काठमाण्डौमा घडेरी किने’ न्यौपानेले सेयरबजार लागेपछिको प्रगतिबारे बताए । ‘सुरुमा दोस्रो बजारमा प्रबेश गर्दा म सँग जम्मा एक लाख रुपैयाँ मात्रै थियो । हिमालयन बैंक र बैंक अफ काठमाण्डौको सेयर किनेर म बजार प्रवेश गरे । यी कम्पनीमा थोरै नाफा खाएर सेयर बेचे’ उनले बेलिविस्तार लगाए ।
यतिले मात्रै नपुग्ने सोचेर तत्कालिन मनाकामना विकास बैंकबाट १२ लाख जति कर्जा लिएर एनसीसी बैंंकको ६ हजार कित्ता सेयर प्रतिकित्ता २११ रुपैयाँमा खरिद गरेको विगत उनले सम्झिए । ‘त्यो सेयर मैले तीन गुणा फाइदा बनाएर ३६ लाखमा बेचे । त्यो पैसाले मैले फेरि सेयर किनेन । त्यो पैसाले मैले ललितपुर ४ मा घडेरी किने । त्यसपछि सेयर बजारबाट राम्रै हुने उत्साह जाग्यो,’ उनले सुखद विगत कोट्याए ।
उनले केही समयपछि बजार घटेको मौका छोपेर फेरि सगरमाथा फाइनान्सबाट ५० लाख जति बीटी लोन लिएर चिलिमे हाइड्रोको सेयर प्रतिकित्ता ७०० जतिमा किने । यो कम्पनीको सेयर २७ सय पुगेको थियो । त्यो मुल्यमा उनले सेयर बेच्न सकेनन् । उनले त्यो सेयर पछि १७ सयमा बेचे ।
त्यसैगरि, नबिल बैैक र एभरेष्ट बैंकको सेयर पनि प्रतिकित्ता ९÷९ सय जतिमा किनेर करिब २७ सयमा बिक्री गरेको उनी बताउँछन् । ‘त्यो समयमा सबै कर्जा चुक्ता गरेर ६० लाख जति बचत गरे । त्यो पैसाले ०७२ साल तिर घर बनाए,’ उनले भने ।
न्यौपानेले सेयरबजारमा लागेसँगै मिठासँगै तिता पलहरु पनि संगालेका छन् । न्यौपानको अनुभवमा सेयरबजारमा फाइदा नै फाइदा हुन्छ भन्ने हुँदैन । एकपटक बजार उच्च विन्दुमा पुगेको बेला बढेको पोर्टफोलियोमा राम्रै नोक्सानी भएको अनुभव समेत उनीसँग छ । तर धैर्य गर्दा त्यो मुल्य कुनै न कुनै समयमा फेरि फर्केर आउने उनी बताउछन् ।
उनी नयाँ लगानीकर्तालाई सेयर बजारमा मात्रै निर्भर नहुन सुझाव दिन्छन् । उनी आफूपनि केही प्रोजेक्टमा पार्ट टाइम काम गर्छन । उनको अनुभवमा पैसा मात्रै कमाउनु जिन्दगी होइन । पैसा कमाउनुका साथै जीवनजगतलाई बुझ्न भ्रमण गर्नुपर्ने उनको बुझाई छ । उनी विगत सात बर्षमा युरोप , एशिया, अमेरिका गरेर १२ देश घुमिसेकका छन् । न्यौपाने आगामी साता पनि परिवारसहित वन्युजन्तुको संसार अवलोकन गर्न दक्षिण अफ्रिका जाने तयारीमा छन् ।
सेयरबजार निकै संवेदनशिल ठाँउ भएकाले ठोस योजना बनाएर मात्रै सेयर बजार प्रवेश गर्न उनी नवप्रवेशीहरुलाई सुझाव दिन्छन् ।