काठमाण्डौ आज संघीय संसदअन्तर्गतका विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक १२ः३० बजे समितिको कार्यकक्षमा बस्नेछ । उक्त बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा संघ तथा प्रदेशस्थित सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञ व्यक्तित्वहरूसँग छलफल गर्ने कार्यसूची छ ।
यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । यो बैठक दिउँसो साढे २ बजे बस्नेछ ।
अपराह्न १ः०० बजे बस्न लागेको विधायन व्यवस्थापन समितिको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षा’मा छलफल हुनेछ ।