काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडले यही साउन २६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता सेयर जारी गर्न लागेको हो ।
कम्पनीले गत असार १ गते प्रति सेयर रू. १०० अंकित दरका १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये जारीपूँजीको १० प्रतिशत अर्थात रु. १०० अंकित दरका ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्र अर्था संखुवासभा जिल्लाको मादी नगरपालिका वडा न्ं। ७,८,९ र चैनपुर नगरपालिका २,३,७,८,९ मा स्थायी बसोवास गर्ने वासिन्दाका लागि र सर्वसाधारणका लागि छुट्टाइएको १५ लाख ४ हजार ७०६ कित्ता सेयरमध्येको १० प्रतिशत अर्थात रु. १०० अंकित दरका १ लाख ५० हजार ४७१ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका गत असार २२ गतेदेखि साउन ४ गतेसम्म जारी गरिएको थियो ।
पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा रहेका लागि जारी गरिसकेपछि अब कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । आम सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गते हुनेछ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।