काठमाण्डौ । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओ निष्कासन तथा बिक्री आवेदन आजदेखि बन्द गर्ने भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १० लाख ९५ हजार ४०० कित्ता आईपीओ जारी गरेको थियो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरेको आईपीओ भने गत साउन ९ गते बन्द गरिएको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ५८ करोड ६० लाख रुपैयाँबराबरको प्रति सेयर रू.१०० अंकित दरका ५८ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।
जसमध्ये जारीपूँजीको २ प्रतिशत अर्थात रु. १०० अंकित दरका ५ लाख ६६ हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्र (तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडाहरु,आँवुखैरेनी गाउँपालिकाका सबै वडा,भानु नगरपालिका वडा न. १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा न. ७)का स्थानिय बासिन्दाका लागि जारी गरिएको छ ।
यस्तै सर्वसाधारणका लागि छुट्टाइएको ५२ लाख ९४ हजार सेयरमध्येको १० प्रतिशत अर्थात रु. १०० अंकित दरका ५ लाख २९ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिएको थियो ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, बन्दीपुर केवुलकारको काठमाण्डौ कालिमाटी कार्यालय,बन्दीपुर केवलकारको तल्लो स्टेशन,आँबुखैरेनी गाउँपालिकाको कार्यालय,भानु नगरपालिकाको वडा न।१ को कार्यालय र पालुङटार नगरपालिका वडा न। ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।
कम्पनीले दोस्रोचरण अन्गगर्त आम सर्वसाधारणका लागि जारीपूँजीको १८.७०७६ प्रतिशत अर्थात ५२ लाख ९४ हजार कित्ता सेयर जारी गर्नेछ ।