काठमाण्डौ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल(नाडा)को महासंघमा रुपान्तरण हुने योजना तत्कालका लागि टरेको छ । महासंघमा रुपान्तरण हुुने मुख्य प्रस्तावसहित नाडाले डाकेको विशेष साधारण सभा निर्धारित समयमा नहुने भएसँगै उक्त योजना पछि धकेलिएको हो ।
नाडाको भदौ ८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही भदौ २४ गते मंगलबारका दिन ललितुरमा रहेको द प्लाजा झम्सिखेलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको थियो ।
तर उक्त निर्णयविरुद्ध असन्तुष्ठि जनाउदै नाडाका कार्यसमिति सदस्य समेत रहेका आकाश गोल्छाले जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उजुरी दर्ता गरेका थिए । गोल्छाले नाडाका हालका अध्यक्ष करण चौधरीलाई नै महासंघको अध्यक्ष बनाउने गरी रुपान्तरणको योजना बनेकाले विशेष साधारण सभा गर्नुको औचित्यमाथि प्रश्न गरेका थिए ।
सोही उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौले विशेष साधारण सभा डाक्नुको औचित्यबारे प्रष्ट्याउन ७ दिनको समय दिदै नाडालाई सभा रोक्न निर्देशन दिएको छ ।