काठमाण्डौ । सोमबार बानेश्वरमा नरसंहार मच्चाएका सुरक्षाकर्मीले मंगलबार पनि दमनकै रबैया अपनाइरहेका देखिएको छ ।
काठमाण्डौ लगायत देशका विभिन्न क्षेत्रमा प्रदर्शन उग्र बन्दै गइरहेको बेला सुरक्षाकर्मीले काठमाण्डौको कलंकी क्षेत्रमा सर्वसाधारणमाथि दमन गरेका छन् । शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका र बाटो हिँडिरहेकाहरुलाई समेत प्रहरीले जथाभावी कुटपिट गरेको दृश्य बिजशालाले फेला पारेको छ । त्यो भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।
कलंकीको मन्दिर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भइरहेको छ । सो क्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको त्यहाँबाट हाम्रा संवाददाताले जनाएका छन् । सो क्रममा आवश्यकता नै नहुँदा समेत प्रहरीले टियर ग्याँस र हवाई फायर गरेको छ । प्रहरीको कुटपिटबाट केही व्यक्ति घाइते भएका छन् । अहिले कलंकी क्षेत्र तनावग्रस्त बन्न पुगेको छ ।
प्रहरी दमनको बाबजुद कलंकी र आसपासको क्षेत्रमा प्रदर्शन रोकिएको छैन । घर घरबाट कलिला विद्यार्थी, तिनका अभिभावक, गृहिणी समेत सडकमा उत्रिएर केपी ओली नेतृत्वको सरकारको दमनविरुद्ध प्रदर्शन गरिरहेका छन् ।