काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा सार्वजनिक र मालवाहक सवारी साधन सञ्चालन अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ।
महासंघले भदौ २३ गते ‘जेन जिन’ समूहको शान्तिपूर्ण प्रदर्शनमाथि भएको सरकारी दमनका कारण १९ जना विद्यार्थीको ज्यान गएको घटनाप्रति गहिरो शोक व्यक्त गर्दै, शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको हो।
विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, नेपाल सरकारले घाइतेहरूको उपचार व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ। महासंघले आफ्ना सम्पूर्ण सदस्य सङ्घ, समिति, कम्पनी र प्रालिहरुलाई उपचार सहयोगका लागि अग्रसर हुन पनि आग्रह गरेको छ।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा कर्फ्यू जारी भएको र अशान्त परिस्थितिका कारण सार्वजनिक तथा मालवाहक यातायात सञ्चालन असम्भव भएको महासंघले स्पष्ट पारेको छ।
त्यसैले, उचित शान्ति सुरक्षाको वातावरण सुनिश्चित नभएसम्म यातायात सञ्चालन नगर्न सम्पूर्ण सदस्यलाई निर्देशन दिइएको छ।