काठमाण्डौ । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शान्तिपूर्ण व्यवहार अपनाउन सबैलाई आग्रह गरेको छ।
मंगलबार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत जारी गरिएको वक्तव्यमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना प्रकट गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
सेनाले विद्यमान संवेदनशील परिस्थितिलाई थप जटिल हुन नदिन सबै पक्षले सामाजिक सद्भाव र राष्ट्रिय एकताको रक्षा गर्नुपर्नेमा जोड दिएको छ। वक्तव्यमा भनिएको छ, “देशका ऐतिहासिक, सांस्कृतिक तथा राष्ट्रिय सम्पत्तिको संरक्षण हाम्रो साझा जिम्मेवारी हो। यस्तो कठिन समयमा संयमता र धैर्य अपनाउन सम्पूर्ण युवाशक्ति तथा नागरिकहरूमा हार्दिक अनुरोध गर्दछौं।”
साथै, नेपाली सेनाले परिस्थिति निरन्तर मूल्याङ्कन भइरहेको उल्लेख गर्दै राष्ट्र र जनताको सुरक्षाप्रति आफ्नो अटुट प्रतिबद्धता पुनः दोहोर्याएको छ।
