बुधबार, भाद्र २५,२०८२ 08:34:39
  • बुधबार, भाद्र २५,२०८२ 08:34:39
Global IME Bank Limited

मुलुकमा जब संकट आउँछ तब सेयर बजारमा उछाल आएको इतिहास, यो पटक के होला ?

Hyundai Nepal
मुलुकमा जब संकट आउँछ तब सेयर बजारमा उछाल आएको इतिहास, यो पटक के होला ?

काठमाण्डौं । जेन जीको आन्दोलनले २७ घण्टाभित्र संघीय संसदका दुई ठूला दलको दुईतिहाइको सरकार तासको घरजसरी ढल्यो । सोमबार जेन जी सडकमा उत्रिरहँदासम्म केही घण्टामै यो आन्दोलनको ताप, राप र विकसित घटनाक्रमले सरकार यसरी ढल्छ भन्ने सायद कमैले आँकलन गरेका थिए ।  

सोमबारको प्रदर्शनका क्रममा १९ जना बढी अबोध विद्यार्थीको विभत्स हत्या भएपछि आन्दोलनले उग्र रुप लियो । सरकारको तानाशाही र दमनकारी रबैयाविरुद्ध जेनजीको सपोर्टमा दोश्रो दिन मंगलबार देशभर जनसागर उर्लियो । भीडमा अराजक समूह पनि मिसिए । स्वार्थ समूहले विभिन्न मानिसहरु परिचालन गरे । फलस्वरुप मंगलबार बिहानदेखि संघीय राजधानी काठमाण्डौका संसद भवन, सिंहदरबारस्थित प्रमुख प्रशासनिक केन्द्र, न्यायालयका विभिन्न तहका संरचना, सञ्चार भवन, भाटभटेनी सुपरस्टोर, हिल्टन होटल, एनसेल लगायतका दर्जनौ व्यवसायिक प्रतिष्ठानहरु खरानी पारियो । देशका अन्य प्रमुख क्षेत्रका सरकारी संरचना पनि क्षणभरमै ध्वस्त बनाइए । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आन्दोलनले उग्र रुप लिन थालेपछि मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्जले लगानीकर्ता र स्टक ब्रोकर एसोसिएशनको आग्रहअनुसार यो साताभरका लागि सेयरबजार बन्द गरेको छ । 

दशैंको मुखैमा यसरी आन्दोलनका कारण सेयरबजार बन्द भएपछि लगानीकर्ता अत्तालिएका छन् । योसँगै आउने साताबाट खुल्नसक्ने सेयर बजारले देशमा पछिल्लो समय विकसित घटनाक्रमप्रति कस्तो प्रतिक्रिया जनाउँछ भन्ने कौतुहुलता समेत देखिन्छ ।  

असार १३ गते ३ हजारको बिन्दुमा बन्द भएको बजारले पछिल्लोपटक दैनिक गिरावटको सामना गरिरहेको छ । त्यसपछि सेयरबजार ३३० अंकले झरिसकेको छ । अब चाहिँ के होला त ?

यसअघिका संकटमा सेयरबजारमा उछाल  

सेयर बजारको इतिहास नियाल्ने हो भने जब–जब देश संकटमा परेको थियो, त्यसपछि सेयर बजारमा उछाल आएको थियो । कुनै समय माओबादीको आन्दोलनको समयमा रुकुम, रोल्पामा ठूला भिडन्त हुँदा काठमाण्डौको सेयर बजारमा उछाल आउथ्यो । लामो समय साइडवेजमा बसेको बजार पछि भारतीय नाकाबन्दीमा पनि चम्कियो । यसैगरी, ०७२ सालको भूकम्प, त्यसपछिको कोभिड–१९ को महामारीमा पनि सेयर बजारमा उछाल आयो । बजारले नयाँ–नयाँ उचाई चुम्यो ।  

नेपालमा संकटको बेला सेयर बजारमा उछाल आउने मुख्य कारण अन्यत्र लगानीको विकल्प ठप्प भएपछि अल्पकालीन लाभका लागि सबै बजार केन्द्रीत हुने प्रवृति पनि एउटा हो । अझ घरमै बसेर कारोबार गर्न मिल्ने भएकोले सानादेखि ठूला व्यापारीले समेत बजारमा पैसा खन्याउने प्रवृतिले बजार बढाइदिन्छ ।  

यसो भन्छन् विश्लेषक

प्राविधिक विश्लेषक समेत रहेका विष्णुप्रसाद बस्याल विगतमा पूँजीवृद्धि, नाकाबन्दी तथा पुनरसंरचनाको पैसाले बजार बढेको बताउँछन् । तर अहिले भने अवस्था केही फरक छ । अझै पनि राजनीतिक निकास के हो भन्ने प्रष्ट देखिएको छैन । राज्यको मुख्य नीति राजनीति सम्हालिएको खण्डमा बजारले एउटा बाउन्स लिनसक्छ । तर त्यस समयको बढोत्तरीको कारोबार तथा भोल्यूम र मोमेन्टमले निधारण गर्छ । बस्यालको बिचारमा बजार केही समय २६५० देखि २९ सयको बिन्दुमा नै घुमिरहनसक्ने सम्भावना देखिन्छ । 

राजनीति तथा सेयर बजारलाई नजिकबाट नियालेका विश्लेषक गोविन्दप्रसाद घिमिरे भन्छन्,‘अहिलेको राजनीतिक परिदृश्य एकाएक भएका कारण धेरैलाई विश्वास गर्न कठिन  भइरहेको छ । ब्यवस्था जुनसुकै आएतापनि पूँजीबजारलाई प्रभावित पार्ने मुख्य विषय भनेको नीति नियम नै हो । व्यक्तिभन्दा पनि राजनीतिक व्यवस्थाले बजारको विषयमा लिने नीतिले भविष्यको चाल कस्तो हुन्छ भन्ने निर्धारण गर्छ ।’  

अनपेक्षित रुपमा एक्कासी आएको राजनीतिक उथलपुथलले केही दिन सेयर बजारमा उतारचढाव हुनसक्ने उनी ठान्छन् । ‘तर अब बन्ने सरकार पुँजीबजारविरोधी र अलोकप्रिय हुनसक्दैन । किनकी पूँजीबजारमा ठूलो जनसंख्या जोडिएको छ ।’ उनले थपे–‘यसकारण पूँजीबजारमा नयाँ आउने सरकारबाट पनि केही सकारात्मक नै अपेक्षा गर्न सकिन्छ ।’  

सेयर बजारका प्राविधिक विश्लेषक समेत रहेका सुबासचन्द्र ढुंगानाको बिचारमा अल्पकालमा केही करेक्सन आएतापनि मध्य र दीर्घकालमा बजारको बाटो बुल नै हो । ‘सामान्यतया दशैंअगाडि अरु वर्ष पनि बजार करेक्सन नै हुने हो । अहिले त फेरि राजनीतिक अन्यौलता देखिएको छ । राजनीति कसरी अगाडि बढ्छ भन्ने विषय केही दिनमा प्रष्ट होला ।’ उनले भने–‘त्यसपछि सेयर बजार पनि कता जान्छ भन्ने अझ राम्रो तस्विर आउला ।’ उनको बिचारमा बिगतमा पनि सेयरबजारमा अनिश्चितताकै बिच बुल आएको थियो । यसपटक के हुन्छ भन्ने कुराका लागि केही दिन पर्खनैपर्ने भनाई छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.