काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तत्काल संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्न प्रस्ताव राखेका छन्।
बुधबार साँझ फेसबुकमार्फत देशवासी र जेनजी आन्दोलनकारीहरूलाई सम्बोधन गर्दै मेयर शाहले देश इतिहासकै अभूतपूर्व परिस्थितिमा रहेको उल्लेख गरे। उनले जेनजी आन्दोलनले ल्याएको क्रान्तिलाई संरक्षण गर्न संसद् विघटन र अन्तरिम सरकार गठन आवश्यक रहेको बताए।
मेयर शाहले आफ्नो फेसबुक पोष्टमा लेखेका छन्:
प्रिय जेनजी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,
अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईंहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ। यो बेला कृपया नआत्तिनुहोला, धैर्य राख्नुहोला। अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ। यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने, देशलाई नयाँ जनादेश दिने हो।
यो अन्तरिम/चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईंहरूबाट आएको प्रस्ताव पूर्वप्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ। तपाईंहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु। तपाईंहरू कति परिपक्व हुनुहुन्छ भन्ने कुरा यसैले जनाउँछ।
अहिले नै हतारमा नेतृत्वमा आउन चाहने साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईंहरूको जोश, तपाईंहरूको सोच, तपाईंहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै। कृपया हतार नगर्नुहोला।
माननीय राष्ट्रपति ज्यू,
जेनजीहरूले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद्को विघटन अविलम्ब गर्नुहोला।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।